कोरोना विरुद्धको लडाई यसरी लड्ने कि !

मेरो व्यक्तिगत सन्काहा धारणाः हामीले गर्ने भनेको आर्थिक वृद्धि, विकास, पूर्वाधार विकास र प्रगति कसका लागि गर्ने हो ? न्याय, समानता, अधिकार कसका लागि स्थापित गर्ने हो ? मान्छेहरु भटाभट मर्न थाले भने भौतिक प्रगति कसका लागि देखाउने ? पहिलो कुरा मानिसको जीवन रक्षा हो त्यसपछि विकास, धन सम्पत्तिको कुरा आउँछन् । आफ्नो ज्यानको माया कसलाई लाग्दैन र ?

अहिलेको अवस्थामा पनि यही कुरा लागू हुन्छ । पहिले हामी बाँचौं अनि मानिसहरुलाई बचाओं । पढ्ने, पढाउने, भाषण गर्ने, विकास गर्ने काम अर्को वर्ष गरौंला नि त । अर्को वर्षसम्म यस्तै रहे अल्लि अर्को वर्ष गरौंला ! अहिले सामाजिक दूरी र व्यक्तिगत सुरक्षा अपनाएर गर्न मिल्ने विकासका काम गरौं नमिले वैकल्पिक विधिबाट राम्रा राम्रो कार्ययोजना, रणनीति बनाइराखौं र खुकुलो भयो भने कार्यान्वयन गरौंला । संसारै लक भएको बेला के बिग्रिएला र ? फेरि हामीले कसलाई उछिन्नु छ र ? त्यसैले अहिले अरु काम भन्दा पनि कोरोना विरुद्धको लडाईमा एकजुट होओं । एक्ला एक्लै बसेर एकजुट होऔं ।

अनि अर्को कुरा म त कम बुझेर पनि होला; कोरोना संक्रमितको नाम गोप्य राख्नु पनि ठीक भएन भन्छु म । हामी सबैले बुझेकै छौं कि कोरोना संक्रमित हुनु उसको कुनै दोष छैन, उसले कुनै अपराध गरेको होइन । त्यस कारण समाजबाट ऊ बहिस्कृत हुँदैन । सायद कसैले उसको व्यक्तिगत स्वाभिमानलाई आँच पुर्‍याउने खालको काम कुरा पक्कै गर्दैन । त्यसैले हामीसँग ट्रेसिङ गर्ने भरपर्दो र व्यवस्थित प्रविधि र प्रणाली पर्याप्त नभएको अवस्थामा संक्रमितको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र नपुग्न सक्छ ! बरु संक्रमितको पूरा विवरण सार्वजनिक गरेमा कन्ट्याक्ट ट्रेसिङ सहज हुन सक्छ !

उदाहरणका लागि मलाई कोरोना संक्रमण भयो भने म कहाँ कहाँ गएँ त भन्न सकुँला तर अहिलेको स्वस्थ अवस्थामा पनि कहिले को को सँग भेट भएँ भनेर भन्न सक्दिन । तर मेरो सम्पूर्ण विवरण सार्वजनिक भयो भने मलाई क-कसले भेटे उनीहरुलाई कहीँ न कहीँबाट थाहा हुन्छ र आफै स्वास्थ्य परीक्षण गर्न आउनेछन् । यसो गर्दा संक्रामक रोग नियन्त्रणमा सघाउ नै पुग्छ होला ! मलाई राम्ररी थाहा छैन कि कोरोना संक्रमित व्यक्तिको नाम किन गोप्य राखिन्छ ! मानव अधिकार र व्यक्तिगत गोप्यताको कुरा मात्र हो भने मलाई यदि कोरोना संक्रमण भयो भने मेरो नाम सार्वजनिक गरिदिए हुन्छ । मैले फेरि पनि भनेँ कि यो अभिव्यक्ति मेरो नबुझेको सन्काहा धारणा हो । यहाँहरुको तर्कलाई म सम्मान गर्छु र बुझ्ने मौका पनि पाउनेछु । #मनको_कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top