रुकुम पूर्वकाे भूमेमा ‘पब्लिक हाजिरी’, काे कर्मचारी आएकाे/नआएकाे सेवाग्राहीले सजिलै थाहा पाउँछन्

राजु लामिछाने, रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने गरी सार्वजनिक रुपमा गर्ने व्यवस्था गरेको छ । कार्यालयको सेवा प्रवाहका लागि कर्मचारीको उपस्थितिलाई पारदर्शी बनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले ‘पब्लिक हाजिरी’ को व्यवस्था गरेको हो । 

कर्मचारीको उपस्थितिलाई नियमित गराउन र उनीहरू आएको–गएको कुरा सेवाग्राहीले पनि प्रष्टैसँग देख्न सक्ने गरी पब्लिक हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।

‘को–को कर्मचारी कार्यालयमा हुनुहुन्छ भनेर सोधिरहन पर्दैन’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ‘कार्यालय परिसरमा राखिएको यस हाजिरी विवरणले हामीलाई कर्मचारीको समयमै उपस्थित हेर्न र सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ ।’

गएको वर्षको मङ्सिरबाट नै सुरु गरिएको यो व्यवस्थाले सेवाग्राहीलाई कर्मचारी छन् कि छैनन् भन्ने जानकारी हुने र कर्मचारीलाई पनि कार्यालयको नियमितता र कार्यकक्षमा बसिरहन नैतिक दबाब पुग्ने गरेको छ ।

‘यस खालको व्यवस्थाले सेवाग्राहीलाई पालिकामा कति कर्मचारी छन् भन्ने थाहा हुने र कोही कर्मचारी अनुपस्थित भएमा फलानो कर्मचारीलाई देखिनँ नि भनेर भन्ने छन्’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ‘यसले हामीलाई सेवाग्राहीमैत्री बन्न थप दबाब दिने रहेछ ।’

कर्मचारीको उपस्थितिलाई सेवाग्राहीले पनि निगरानी गर्न पाउँछन् भनेर पनि सार्वजनिक रूपमा हाजिरी देखाउने व्यवस्था गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । उहाँका अनुसार फाँट–फाँटमा गएर आए–नआएको हेर्नुभन्दा सबैले देखिने गरी राख्दा सहज हुने भएकाले पब्लिक हाजिरीको व्यवस्था गरिएको छ । 

कार्यालय परिसरमा सबैले प्रष्टसँग देख्ने गरी राखिएको हाजिरी विवरण कर्मचारीले कार्यालय समयमा आउँदा उपस्थित र जाँदा अनुपस्थितिको जनाउ दिएर जान्छन् । 

उज्यालो अनलाइनमा मिति  असार १३, २०७८ आइतबार १४:३६:३७ मा प्रकाशित

https://ujyaaloonline.com/story/55053/2021/6/27/public-attendance-in-rukum-east-bhume

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top