तिमी,
तिमी मुस्कुराउँदा,
मेरो मष्कट ठडिन्छ, मनभित्र गंगा छल्किन्छ
नशा नशामा साहस दौडिन्छ, धैर्य टल्किन्छ ।
टल्किन्छन् नयन, उफ्रिन्छन् स्फूर्ति र उमङ्गहरु
छाति धक्क फुलेर आउँछ, भरिन्छन् इन्द्रेणीका रङहरु
खुशीका ती रङहरुले भरिदिन्छन् अदम्य साहसहरु,
छचल्किन्छन् यौवनका लीला र अतृप्त मायाका प्यासहरु
प्यासी आशा, चाहना, दिवाना तिमी आफैं बुझ प्रिय
मायाको शक्ति कति हुन्छ भन्ने कुरा बुझ्न
तिमी फै मायाको सागरमा डुबेर हेर न प्रिय
हो तिमी, तिमी खुशी मुद्रामा हुँदा,
मभित्र संसार जित्ने अदम्य आँट पलाएर आउँछ,
शिखर चुम्ने चाहा पलाएर आउँछ,
समुद्रमूनि शहर र मरुभूमिमाथि वस्ती बसाउने हठ जागेर आउँछ
कङ्गाललाई अरिङ्गाल र अमिरलाई कुम्मिर बनाइदिन मन लागेर आउँछ
साँच्चै तिम्रो खुशीयालीमा मेरो मनभित्र सम्भावनाको पागलपन जन्मिन्छ
तिमी बेचैन हुँदा,
मेरा मांसपेशीहरु लल्याकलुलुक हुन्छन्,
हड्डीहरु पल्याकपुलुक हुन्छन्,
हातखुट्टा गल्न थाल्छन्,
आँखा टोलाउँछन्, हृदय बौलाउँछ
मनलाई दरो गरि आफैसँग समाउन खोज्छु
यो मन कहाँ कहाँ भाग्छ, दौडिन्छ ।
(चन्द्र ज्योति) २०७९/१०/१९ राति