कखरा संवाददाता शुक्रबार, साउन ५, २०८०
रुकुम पूर्वको भूमे गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठलाई बिदाई गरिएको छ । सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जान लाग्नुभएका श्रेष्ठलाई आज आज गाउँपालिका कार्यालय खाबाङ बगरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले बिदाई गरेको हो । श्रेष्ठ भूमे गाउँपालिका स्थापना भए देखि नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सुरुमा हालका प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख कार्यकारी अधिकृत भनिन्थ्यो । उहाँले गाउँपालिका स्थापना कालको व्यवस्थापन, पहिलो स्थानीय तहको निर्वाचन, त्यसबाट निर्वाचित जनप्रतिनिधिको एक कार्यकाल र स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिसंग १ वर्ष काम गर्नुभयो । श्रेष्ठ भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङ निवासी हुनुहुन्छ ।
बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भूमे गाउँपालिकामा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । आफ्नो गृह पालिकामा स्थापनाकाल देखि हालसम्म श्रेष्ठले पुर्याएको योगदान प्रशंसायोग्य रहेको उहाँले बताउनुभयो । सबैलाई मिलाएर जाने श्रेष्ठको क्षमताले उहाँको कार्यकालभरी गाउँपालिकामा आफुले कुनै असमझारी वा समस्या नदेखेको उहाँको भनाई छ ।
त्यस्तै पूर्व गाउँपालिका अध्यक्ष रामसुर बुढाले श्रेष्ठको समन्वयकारी र केही गर्नुपर्छ भन्ने हुटहुटीका कारण भूमे गाउँपालिका अहिले यो अवस्थामा रहेको बताउनुभयो । श्रेष्ठको काम गर्ने शैली देखि आफु पनि चकित परेको उहाँको भनाई छ । ‘उहाँको काम प्रतिको लगाव देखेर चकित छु, म राती १० बजेसम्म काम गरेर फर्किदा उहाँ काममै हुनुहुन्थ्यो, बिहान झिसमिसेमै काम परेर कार्यालय आउँदा पनि उहाँ काम गरिरहेकै अवस्थामा हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष सबिना बुढामगरले आफु निर्वाचित भएर हालसम्म काम गर्दा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसंग कुनै असमझदारी नभएको बताउनुभयो । बिदाई कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले फूलमाला र अविरआवरण गरेर बिदाई गर्दै श्रेष्ठको आगामी कार्यकाल सफलताको कामना गरेका थिए ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडाका अध्यक्ष, पूर्व जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो । उपेन्द्र यादवको बिदाई मन्तव्य रहेको कार्यक्रमको संचालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १६:२१