भूमे गाउँपालिका चिनाउने पुस्तक

पर्यटन लेखक सुरेन्द्र राना (गुरिल्ला) ले रुकुम (पूर्व) को भूमे गाउँपालिका चिनाउन ‘भूमे- दि पिक्टोरियल जर्नी’ किताब सार्वजनिक गरेका छन्।

भूमे गाउँपालिकाले प्रकाशन गरेको उक्त फोटोबुकमा रानाले चार वर्ष घुमफिर गरेर संकलन गरेका तस्बिर र जानकारी समेटिएको छ। पुस्तकमा आकर्षक रंगीन तस्बिरसहित गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक जानकारी उपलब्ध छ। यो गाउँ गुरिल्ला पदमार्गमा पर्ने भएकाले माओवादी द्वन्द्वसँग सरोकार राख्ने घटनास्थल र सम्पदाहरू पनि पुस्तकमा समेटिएका छन्।

नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकले भूमेको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने भूमे गाउँपालिका प्रमुख रामसुर बुढा बताउँछन्। ‘यो पुस्तक हाम्रो गाउँपालिका चियाउने कलात्मक आँखीझ्याल हो,’ उनले भने, ‘पर्यटन हाम्रो प्राथमिकतामा परेको छ।’

चेन्जिब नेपालको संयोजनमा प्रकाशित पुस्तक १२८ पृष्ठको छ। मुलुकका अन्य गाउँपालिका र नगरपालिकाहरूले पनि आ–आफ्ना सम्भावना उजागर गर्न यस्तै पुस्तक प्रकाशन गर्न सके राम्रो हुने रानाको भनाइ छ।

‘भूमे गाउँपालिकाझैं आफ्ना लागि स्थानीय निकाय आफैं जुर्मुराउनुपर्छ,’ उनले भने।

सेतोपाटी अनलाइनमा प्रकाशित मिति प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १४:१५

https://www.setopati.com/art/art-activity/188759

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top