आजभोलि बिरोध र उत्सवका बेला विभिन्न राजनीतिक दल र समूहहरुले प्रदर्शन गर्ने बिरोध र उत्सवको शैली उपयुक्त छैन । विरोध र उत्सव निक्कै महत्वपूर्ण कुरा हुन् । सुधारका लागि बिरोध गर्नैपर्छ । थप जोस जाँगर उत्साहका लागि उत्सव मनाउनु पनि पर्छ । फरक मत र बिरोधले निर्णयकर्ता वा शक्तिमा रहेका व्यक्ति तथा संगठनलाई थप उत्तरदायी र लोकतान्त्रिक बनाउन सहयोग पुर्याउँछ । त्यसैगरी विजय र्याली, उत्सवले जनमत र माहोल आफ्नो पक्षमा ल्याउन, ध्यानाकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ । यो कुरा नेपाली राजनीतिक दलका नेता, कार्यकर्ता र तिनका भातृ संगठन तथा विभिन्न समूहले राम्ररी बुझेकै छन् । बुझेर नै होला, बिरोध कार्यक्रम र उत्सव कार्यक्रम भव्य ढङ्गले हुन्छ। कार्यक्रम सम्पन्न भएपछि भव्य रुपमा सफल भएको समीक्षा पनि गरिन्छ ।
बिरोध र उत्सवको शैली हेर्दा हामी अझैं पनि लोकतान्त्रिक भएका छैनौं भन्ने प्रष्ट हुन्छ । अझै पनि हाम्रो मानसिकता भनेको झुत्रेझाम्रेको अगाडि आफू सुकिलोमुकिलो देखिनु, रवाफ देखाउनु र आसमा आकर्षित गर्नुमा सफलता ठान्ने खालको छ । कमजोरको अगाडि आफूलाई बलियो देखाउँदा उसले सुरक्षित महसुस गर्छ कि आत्मग्लानी भएर नजिक आउन छोड्छ भन्ने कुराको ख्याल गरिँदैन । मनभित्रैबाट स्वीकार गरेर दीर्घकालका लागि नजिकमा छ कि विकल्प नभएर तत्कालीन अवस्थाका लागि मात्र आफ्नो पक्षमा छ भन्ने कुरा पटक्कै ख्याल गरेको देखिँदैन ।
कुनै राजनीतिक दल र तिनका उम्मेदवारले चुनावमा जित्दा होस् वा अधिवेशन हुँदा होस्, वा कुनै व्यक्ति/समूह वा संगठनले कुनै सफलता हात पार्दा खुशियालीमा कार/मोटर साइकल र्याली गर्ने, महङ्गा होटलमा पार्टी गर्ने, सार्वजनिक स्थलमा अरुको अधिकार, स्वतन्त्रतामाथि ख्याल नपुर्याएर डिजे उत्सव गर्ने जस्ता अत्याधिक विलाशिताको शैली अपनाएको पाइन्छ । यसबाट पनि हामी र हाम्रो मानसिकता कस्तो छ भन्ने प्रष्ट हुन्छ । सडकमा आ-आफ्नै बाध्यता, विवशताको पछाडि दौडिएका सपनाले भरिएका सवारी साधनहरु, सासको आशमा साइरनको चित्कारसँगै हस्पिटल हानिएका एम्बुलेन्सलाई रोकेर पचासौं, सयौं, हजारौको सङ्ख्यामा गरिने कार, मोटरसाइकल र्याली अथवा भनौ शक्ति प्रदर्शनले हाम्रै व्यापार घाटा बढाएर तीन करोड हाराहारीको नेपालीलाई गरिब बनाएको छ भन्ने कुरा सोँच्ने फूर्सद न दश लिटर पेट्रोलका लागि एकछिन बाटोमा कुद्ने मोटरगाडीवालालाई छ; न त एक पटकको र्यालीमा १००० लिटरको मूल्य तिर्ने नेतालाई । यो देशको भविष्य, गरिब जनताको चिन्ता त भएन रे, विलाशी उत्सव मनाउन कतैबाट सजिलै आएको पैसा सजिलै खर्च भयो रे । केही भएन । तर, जसलाई सेकेण्ड-सेकेण्डको महत्व थियो ऊ समयमै गन्तव्यमा पुग्न नसक्दा कति तड्पियो होला ? जसलाई सररर गुड्ने मोटरसाइकललाई स्पर्श मात्र गरेर भए पनि मनलाई आनन्दित गर्न मन छ उनीहरुकै अगाडि यो तडकभडकले उसको मनका कति पीडा दियो होला ? उसले तपाईको उत्सवलाई कसरी बुझ्यो होला, हेक्का भयो त ?
बिरोध गर्ने शैलीको त झनै कुरा गरी साध्य छैन । बिरोध गर्ने र ध्यान आकर्षित गर्ने सबैभन्दा सजिलो ठाउँ भएको छ सडक । राष्ट्रिय राजमार्ग र आसपासका सडक, सडकपछि बजारका मुख्य चोक, काठमाडौंको माइतीघर तथा संसद भवन अगाडिको चोक र कहिलेकाँही सिंहदरबार परिसर पनि आन्दोलनकारीका बिरोधस्थल भएका छन्। हुन पनि हो, सरकार र सबै मानिसको ध्यान पुग्ने ठाउँ नै यत्ति त हो । दूर्गम वस्ती, गरिबका झुपडी, सुकुम्बासी टोलमा बिरोध, बन्द हड्ताल गरेर कसैले सुन्ने पनि त होइन; बिरोधको राजनीति, हल्लाबाजी र प्रचारको बिरोध गर्नु जो छ ।
बिरोधको रचनात्मक तरिका
- सडक छेउमा फलफूलको बिरूवा लगाउने
- सडकको फोहर सफा गरेर नगरपालिकालाई बेकामे गराइदिने
- गरिबको घर बनाइदिने
- ट्याङ्कसीवालाले तेलको खर्च मात्र लिएर ट्याक्सी चलाउने
- प्यासेन्जरलाई नमस्कार गरेर गाडी चलाउने
- सिंहदरबारको वाल सफा गरेर महावाणी र चित्रको पेन्ट गरिदिने
- सडकमा जेब्रा क्रसिङ प्रयोग नगरी जहाँ पायो त्यहीँ बाटो काट्नेलाई अभिनन्दन गरिदिने
- महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पुराना टायर, बिग्रेका घडी, मोबाइल, रेडियो, इलेक्ट्रोनिक उपकरण उपहार दिने । जिन्सी वा नगद सहयोग दिने ।
- संसद भवन अगाडि कृत्रिम फूल राखिदिने (प्रहरीलाई व्यवस्थापन गर्नै गाह्रो होस्)
- भत्केको सडक गल्ली सफा गरिदिने
- सडकमा पानी खन्याइदिने
- कविता/कथा/उपन्यास प्रतियोगिता गरिदिने
- मजदुरले मेसिन बन्द नगरेर राति पनि काम गरिदिने (सिफ्टमा काम गर्ने)
- कर्मचारीले बिहानै ६ बजे कार्यालय खोलेर साँझ ६ बजेसम्म सेवा दिने
- सार्वजनिक स्थल, खाली जग्गामा बोट विरुवा रोपिदिने
- राजनीतिक दल र तिनका नेताको प्रशंसा गरिदिने
उत्सवको रचनात्मक तरिका
- राष्ट्रिय आविष्कार केन्द्रलाई १००० लिटर पेट्रोल बराबरको जिन्सी वा नगद सहयोग गर्ने
- विद्यालयमा पुस्तकालय स्थापना गरिदिने
- गरिब विद्यार्थीको पढाई खर्च बेहोरिदिने
- गरिबलाई खाना, छाना र नाना दिने
- समाजमा भएका गलत अभ्यास विरुद्ध अभियान सञ्चालन गर्ने
- दूर्गम वस्ती जोड्ने सडक निर्माण (कार्यकर्ता परिचालन गरेर श्रमदानमा)
- सडक, सहर र शौचालय सफा गर्ने
- सकारात्मक सोंचको प्रवचन, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम गर्ने
दैनिक डायरीः
२०७८ साल फागुन १२ गते बिहीबार, नेपालगन्ज
