चौरदेखि भाडाको घरसम्म गाउँपालिका कार्यालय

हरि गौतम

रुकुम पूर्व — भवनको तल्लो तलाको ढोकाभित्र पस्नेबित्तिकै अध्यक्षको सचिवालय छ । त्यसपछि अर्को ढोका छिरेपछि मात्रै अध्यक्षको कार्यकक्ष । अध्यक्षको कार्यकक्ष नपुग्दासम्म सचिवालयमै भुल्न कुनै गाह्रो छैन । सचिवालय गाउँपालिकाका विभिन्न ठाउँका सुन्दर तस्बिरले सजाइएको छ । 

सचिवालयमा विभिन्न गाउँ, क्षेत्र र भूगोल झल्किने तस्बिर छन् । माथिल्लो तलाको एकापट्टि राउन्ड टेबल छ । अर्कापट्टि ठूलो सभाहल । हल पनि तस्बिरले नै सजिएको छ । हल प्रवेश गर्ने जोकोहीले गाउँपालिकाका बारे आधाउधी जानिसक्छ 

हलभित्रका तस्बिरले भूगोल र चालचलन प्रस्टयाउँछन् । यो दृश्य पहिल्यै बनिसकेको कुनै कार्यालयको नभई भर्खरै बनेको भूमे गाउँपालिकाको हो । भूमे गाउँपालिकाले छोटै समयमा आफ्नै भवन त बनायो नै, साथसाथै त्यसको व्यवस्थापन पनि नमुना नै गरेको छ । अध्यक्षको मात्रै नभएर उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत सचिवालयको व्यवस्था गरिएको छ ।

अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत व्यस्त हुँदा सचिवालयले सेवाग्राहीसँग सेवा प्रवाहका लागि सहजीकरण गर्छ । एउटा भवनको तल्लो तलामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष छ भने माथिल्लो तलामा कार्यपालिका बैठक कक्ष र सभाहल छ । अर्को भवनको तल्लो तलामा गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शाखा राखिएको छ । माथिल्लो तलालाई निवास बनाइएको छ । गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी यहीं बस्छन् ।

०७३ फागुन ९ गते तत्कालीन मन्त्रिपरिषद्ले देशका विभिन्न स्थानीय तहको घोषणा गर्‍यो । फागुन २७ गतेको राजपत्रमा उक्त निर्णय छापिएपछि स्थानीय तह औपचारिक रूपमा कार्यान्वनमा आए । साबिकका काँक्री, महत, चुनबाङ, मोराबाङ, काँडा र रुकुमकोट गाविस–४ मिलाएर भूमे गाउँपालिका बनाइयो । साबिकको मोराबाङ गाविसको कार्यालय भवनलाई कार्यालय मानेर कामकाज गर्न तोकिएपछि भूमे गाउँपालिकाले काम थाल्यो । निमित्त कार्यकारी अधिकृत तोकिएका थिए जसिराम खड्का । उनले नै राजनीतिक दलसँगको छलफलपछि सोही फागुन २८ गते कार्यालय उद्घाटन गराए । चौरमै व्यानर राखेर कार्यालय उद्घाटन गरियो ।

मोराबाङ गाविसको भवन जीर्ण बनेका कारण गाविस आफैं भाडाको घरमा सञ्चालन गरिएको थियो । सरकारकै जग्गामा गाउँपालिका कार्यालय उद्घाटन हुने भनिएपछि ०७३ चैत पहिलो साता गाउँपालिकाको वडा ३, सीमामा सरकारी खाली चौरमा गाउँपालिका कार्यालयको उद्घाटन गरियो । ०७३ चैत १० गते कार्यकारी अधिकृतको रूपमा चन्द्रसिंह श्रेष्ठ आइपुगे ।

चौरमै उद्घाटन भएको कार्यालय सञ्चालनका लागि उनी एक्लै थिए । कार्यालय भवन मात्र होइन, कार्यालय सहयोगी पनि नभएपछि एक्लै काम थालेका उनले भाडाको घरमा कार्यालय सञ्चालनका लागि प्रक्रिया सुरु गरे । साबिकका गाविस सचिवले वडासचिवको काम थालेका थिए । केही समय भाडाको घरमा कार्यालय चलाइएपछि स्थानीय तहको निर्वाचन भयो । जनप्रतिनिधि आइसकेपछि सीमामै अस्थायी प्रकृतिको सानो घर बनाएर कामकाज सुरु गरियो । सम्पूर्ण अधिकारसहितको स्थानीय सरकारका लागि उक्त संरचना पनि पुग्दो थिएन । सबै एउटै कोठामा बसेर कामकाज गर्दा सेवा प्रवाह चुस्त हुन सकेको थिएन ।

०७४ पुस ८ गतेको कार्यपालिका बैठकले गाउँपालिका केन्द्र वडा २ को खाबाङबगरमा सार्ने निर्णय गर्‍यो । ०७४ फागुन ४ गतेको राजपत्रमा उक्त निर्णय छापिएपछि गाउँपालिकाले आफ्ना लागि भवन बनाउने निर्णय गरेको थियो ।

गाउँपालिकाले निर्णय मात्रै गरेन, भवन पनि बनाइसक्यो । हाल गाउँपालिकाले आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । २६ कोठाका दुई भवनबाट गाउँपालिकावासीले सेवा लिइरहेका छन् । ‘दुई वर्षअघि चौरमा कार्यालय उद्घाटन गरेर काम सुरु गरेका थियौं । अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले भने, ‘आठदेखि नौ महिनामा भवन तयार भएपछि आफ्नै भवनबाट सेवा प्रवाह थालिएको हो ।’ स्थानीय सरकार भइसकेपछि सामान्य व्यवस्थापनमा काम गर्दा कठिन मात्रै नभएर सेवा प्रवाहमा समेत समस्या पर्न थालेपछि आफ्नै भवन निर्माण गर्ने निर्णय कार्यपालिकाले गरेको थियो । सोही निर्णयअनुसार केन्द्र तोकिएको खाबाङबगरमा गाउँपालिकाले भवन बनायो ।

गत असोज २९ गतेदेखि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । स्थानीय र गाउँपालिकाको साझेदारीमा भवन निर्माण सम्पन्न भएको श्रेष्ठले बताए । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा दिए भने श्रमदान पनि गरेका छन् । गाउँपालिकाको ८० लाख रुपैयाँमा दुई भवन बनेका हुन् ।

स्थानीय नारायण पुन मगर, सूर्यलाल पुन मगर, तुले पुन मगर र खमबहादुर पुन मगरले गाउँपालिकाको कार्यालय भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । काम गर्दै जाँदा दुई भवन पनि अपुग लागेको छ । थप दुई भवनको जग हालेर निर्माण गरिँदै छ । ‘यत्तिले पनि पुगेन र थप दुई भवन बन्दैछन्,’ श्रेष्ठले भने, ‘एउटाको जग हालेर पनि धेरै काम भइसक्यो, अर्को बनाउने तयारीमा छौं ।’ सुरुवातमा एक्लै काम गरेका श्रेष्ठसँग अहिले २५ कर्मचारी छन् । ‘अझै कर्मचारी अपुग छन्,’ श्रेष्ठले भने ।

‘काम गर्दै जाँदा हामीलाई पनि असजिलो भयो । सेवाग्राहीले पनि हाम्रो अप्ठ्यारो बुझेछन्,’ गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘गाउँपालिकाले केन्द्र बनाउने निर्णय गरेकै ठाउँमा गाउँपालिकाका नाममा निःशुल्क जग्गा पास गरिदिए ।’ चौर र भाडाका घरमा कार्यालय सञ्चालन गर्न समस्या भएपछि आफ्नै भवन निर्माणमा लागेको अध्यक्ष बुढाले बताए ।

भवन निर्माण गर्ने भएपछि स्थानीयले श्रमदानमार्फत स्थानीय सरकारलाई सहयोग गरेपछि सरकार र स्थानीयबीचको साझेदारीमा भवन निर्माण सम्भव भएको उनले बताए । भवन निर्माणपछि गाउँपालिका मातहत रहने शाखा तथा एकाइहरूको कामकाज चुस्त हुनुका साथै कार्य सम्पादनमा कर्मचारीले सहजता महसुस गरेको गाउँपालिका अध्यक्षको भनाइ छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:३६

https://ekantipur.com/pradesh-5/2019/04/13/155513109131347823.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top