कोभिड १९ आगमन र संक्रमण अनुभूति

सारा दुनियालाई आच्छु-आच्छु पारेको कोभिड-१९ (कोरोना भाइरस) ले २०७६ सालको माघदेखि नेपाललाई पनि सताइरहेको छ । सुरूका दिनमा आतङ्क बढी भएर हाम्रा दैनिक क्रियाकलापहरु प्रभावित भए । हामीले क्रमशः के – के गर्ने भनेर खास निर्णय लिन नै कठिन भयो । अवस्था नै त्यस्तै थियो – कहाँदेखि सुरु गर्ने ? कोही क्वारेन्टाइन भन्थे त कोही कडा लकडाउन । सुरुमा त क्वारेन्टाइन, आइसोलेसन र लकडाउन भनेको शब्द बुझ्नै कठिन भयो हामीजस्ता धेरैलाई । पशु निकासी पैठारीका क्रममा क्वारेन्टाइनमा चेकजाँच भन्ने अलिअलि सुनेको हो । आइसोलेसन र लकडाउन भन्ने शब्द त मेरा लागि नितान्त नौलो थियो भर्खर कोरोनाको हल्ला चल्ने बेला । पछि मात्र बल्ल बुझियो आइसोलेसन भनेको अरुबाट टाढा भएर, अरुसँग कुनै पनि सम्बन्ध नराखेर एक्लै बस्ने अङ्ग्रेजी शब्दको अनुवाद रहेछ । लकडाउन भनेको चाहिँ पहिले पहिले नेपाल बन्द गरेर सबै क्रियाकलाप ठप्प पारे जस्तै सबै ठप्प पारेर जो जहाँ छ त्यहीँ बसेर कोरोना भाइरसको चेक ब्रेक गर्ने विधि रहेको भन्ने थाहा भयो । हामी नेपालीका लागि क्वारेन्टाइन, आइसोलेसन र लकडाउन त अङ्ग्रेजी शब्द भएर मात्र नयाँ लागेका रहेछन् । होइन भने यी सबैको अनुभव र अभ्यास त गरिसकेका रहेछौं नि पहिल्यै । हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र राजनीतिक गतिविधिको अनुभवलाई अन्तरसम्बन्धित गर्दा हाम्रो लागि नौलो रहेनछ भन्ने कुरा मैले अलिक समयपछि मात्र थाहा पाएँ । तरिका उही हो मात्र पहिलेको उद्देश्य र अहिलेको उद्देश्य, पहिलेको नियामक पात्र र अहिलेको नियामक फरक भएको मात्र हो । कोभिड १९ को खास उपचार नभएकाले रोग लागेर दुःख पाउनु, उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम विकल्पको रुपमा संक्रमणको जालो तोड्नु भएकाले विज्ञहरुबाट उत्तम उपायका रुपमा आएका रहेछन् क्वारेन्टाइन, आइसोलेसन, लकडाउन र सामाजिक दूरी सहितको स्वास्थ्य मापदण्ड जस्ता कुराहरु ।  सामाजिक दूरी र सजगताका नाममा छिःछिः दूर-दूर पनि बढी नै भए । कोरोना संक्रमण जोखिमलाई लिएर समाजमा सामाजिक कलहको नयाँ रुप पनि देखा पर्‍यो ।

नेपालको सन्दर्भमा गत वर्ष देखा परेको कोभिड-१९ (कोरोना भाइरस)ले जनजीवन अस्तव्यस्त पारे पनि सरकारदेखि सर्वसाधारणसम्मको सजगताको कारण हुनुपर्छ स्वास्थ्यमा धेरै सङ्कट देखिएन ।  विकसित मुलुकहरु थैया-थैया परेको बेला नेपालमा त्यसको प्रभाव शून्यप्राय नै रह्यो । जसले गर्दा हामीमा अनेकन अड्कलबाजी पनि भयो । हाम्रो जीवनपद्धति, जडिबुटी र जीनका कारण कोरोनाले असर गरेन जस्तो लाग्यो । त्यो कुरा पनि केही हद्‍सम्म सत्य हुन सक्छ । शुरुको भेरियन्ट कमजोर भएकोले पनि हुन सक्छ जसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर गरेको जस्तो लागेन । हामीले यसलाई सामान्य रुघाखोकीकै दर्जामा राख्यौं ।  कोरोना लाग्छ, खोकी र हाछ्युँ गरेरै जान्छ जस्तो गर्न थाल्यौं । भाइरसहरु फ्याटभित्र हुने भएकाले गर्मी मौसम (चैत्र लागेपछि) प्रभाव कमजोर हुने आँकलन नभएको पनि होइन । अघिल्लो वर्ष कोरोनाको बढी नै हल्ला भए पनि हाम्रो मन खासै हल्लिएन । पछि कोभिड १९ (कोरोना भाइरस) पनि केही समय आराम गर्न लाग्यो होला सायद ! हल्ला पनि विस्तारै शान्त हुँदै गयो । दशैं, तिहार, छठ, क्रिसमस, रमजान लगायतका पर्वहरु रमाइलैसँग मनाउन दियो । हामीले कोरोनाको कहर बिर्सनै लागेका थियौं ।  फेरि हल्ला चल्न थाल्यो भारतमा दोस्रो भेरियन्टको कोरोना देखियो रे ! फेरि भेरियन्ट भन्ने नयाँ शब्दको उचाई बढ्न थाल्यो तर हाम्रो सजगताको उचाई भने यसपालि बढेन । स्वास्थ्यकर्मी र सचेत नागरिकहरुले स्वास्थ्य संकटकालको चेतावनी दिइरहँदा हाँसेर समय कटायौं ।  सर्वसाधारणदेखि सकल सरकारसम्म सबैको संज्ञाले दोस्रो भेरियन्टको कोभिडलाई पहिलेकै जस्तो सहज र सामान्य रुपमा बुझ्यौं । खोप पनि सुरु भैसकेकाले केही सरकारी मान्छेले खोपको फूर्ति पनि धेरैले गर्‍यौं होला ! कोरोनाले आराम गरेर जाग्न लागेको बखत धेरै सभा, सम्मेलन, र्‍याली, कार्यक्रम गरियो । सामाजिक संस्कारका क्रियाकलापको त के हिसाब गर्नु र समाचारपत्रमा छापिने होइनन् । विशेषतः बैशाख ११ र १८ मा भएको शुभ विवाह लग्न साइटले भरिएका पार्टी प्यालेस, बस र बजार दोस्रो भेरियन्टको कोभिड १९ संक्रमण फैलन अलि बढी कारक बने होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । नेपालको स्वास्थ्य क्षेत्रका सङ्कट देखिनुभन्दा करिब दुई हप्ता पहिले नै खुला सिमाना भएको छिमेकी मुलुक भारतमा दोस्रो भेरियन्टको कोभिड-१९ संक्रमण दर उच्च रहेको हामीले थाहा पाए पनि नपाए जस्तो गर्‍यौं । स्वास्थ्यकर्मीको सल्लाहलाई गाली सुन्यौं । सजग गराउने सुरक्षाकर्मीलाई दूर्व्यवहार र गाली गर्नेको पक्षमा ताली बजायौं । कोभिड १९ समुदायस्तरमा देखिन थालेपछि मात्र हाम्रो होस् उड्यो । अक्सिजन तथा स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थामा अनावश्यक टाउको दुखाउनुपर्ने अवस्था आयो । स्वास्थ्यका लागि अत्यावश्यक सामाग्रीहरु रातारात अभाव भए  । त्यही मौका पारेर हामी सबै व्यापारी, नेता, कर्मचारी, समाजसेवी समेत दुई पैसा कमाउने र शक्ति आफ्नो पक्षमा पार्ने लोभमा कति सपनाहरुलाई बीचमै तुवाइदियौं । राज्य र संगठनको नियमित प्रणाली चक्रलाई ब्रेक गरिदिएर व्यक्तिगत, आर्थिक र राजनीतिक लाभ पनि लियौं र थुप्रै कर्णधारहरुको ज्यान पनि लियौं । लोभ, लालच र स्वार्थकै पछि दौडिने क्रममा आफ्नै ज्यान पनि दियौं ।

लकडाउन र आइसोलेसनले कोरोनाको जालो तोडिन्छ र कोरोना संक्रमण चक्रले काम गर्दैन । संक्रमण चक्रले काम नगरेको खण्डमा कोरोना आफै ध्वस्त हुन्छ भन्ने बुझेका हामीले शासनका लाभहरु वितरण गर्ने प्रणाली र व्यवसायिक जीवनका प्राणरुपी उपभोक्ता प्रणाली माथि व्यक्तिगत लाभलाई केन्द्र विन्दु बनाई चेन ब्रेक गर्दा आफ्नै धरातल भासिन्छ र त्यसलाई मर्मत गर्न धेरै समय र लगानी लाग्छ भन्ने कुरा बुझेनौं । जसले गर्दा  हरेक ठाउँमा पहुँच र प्रभावले काम गर्ने भयो । पहुँच र प्रभावको गलत अभ्यासकै कारण थुप्रै महान सपना र मस्तिष्कहरु बीच बाटोमै बिलाए । कति अहिले पनि बिलाइरहेका होलान् ! यही क्रम निरन्तर रहेमा कति कोपिलाहरु फक्रिन नपाई झर्छन्, त्यसको हिसाब कसैसँग छैन र हुने छैन ।

२०७८ साल बैशाख ३० गते

मिति २०७८ साल बैशाख २७ गतेका दिन बिहान उठ्दा जीऊ भारी भयो । हुन त अघिल्लो दिन श्रीमती बिमलालाई सञ्चो छैन भन्ने सुनेपछि रातभर मनमा विभिन्न कुरा खेले । परिवार, परिस्थिति र जिम्मेवारीका विषयमा भएका थुप्रै मनोवादका कारण निद्रा खासै लागेन । टाउको र पूरा शरिर दुखेकाले कतै कोभिड १९ को लक्षण हो कि भन्ने शङ्का लाग्यो । कार्यालयमै एन्टिजेन टेस्ट हुने भएकाले अन्तिममा कोरोना जाँच पनि गराएँ सबैको नतिजा नेगेटिभ आयो । कोरोना नेगेटिभ भएकाले श्रीमतीलाई भेट्न पनि हुने भएकाले साँझ रुकुमकोट गएँ । २८ गते शुक्रबारका दिन अफिस आउन खोजें, शरिर अलि ठरठर भएजस्तो, सबै जीऊ दुखेजस्तो भयो । झोला बोकेर पनि अन्तरमनको आदेश र छोराको अनुरोध बमोजिम अफिस नआई शान्त ठाउँमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा लाग्ने निधो गरेँ । बैंक पनि नखुलेकाले कार्यालयमा मैले नै हस्ताक्षर गर्नुपर्ने र उपस्थित हुनै पर्ने, आजै गर्नैपर्ने काम भएमा फोन गर्नु म आइहाल्छु नत्र नियमित प्रशासनिक कामकाज चलाउनू भनेर फोनबाटै कुरा गरेँ । पूर्ण स्वस्थ नभएकाले दिउँसो ल्यापटप अगाडि राखेर केही काम गरे पनि आफ्नो कामप्रति आफैलाई सन्तोष लागेन । शनिबारको दिन कार्यालयमै बसेर कार्यपालिका बैठकको प्रस्ताव तयारी र बजेट सम्बन्धी काम गर्ने निधो त गरियो तर भोलिपल्ट त्यो बाचा पनि पूरा गर्न सकिएन । शनिबार दिनभर नै सुतेर, बसेर बित्यो । आज ३० गते आइतबार समयमै कार्यालय पुगेर बैठकका एजेण्डा स्वीकृत गराई निर्धारित समयभन्दा एक घण्टा ढिला कार्यपालिका बैठक सुरु भयो । त्यतिञ्जेल मलाई कोभिड८ १९ संक्रमण भएको आभाष भैसकेको थियो । बैठक प्रस्ताव, प्रस्तावित निर्णय र माइन्यूट सबै प्रिन्ट कमाण्ड दिएर आफूले नछोएर ओक बहादुरजीलाई लिन र सदस्यहरुलाई वितरण गर्न लगाएँ । बैठकमा उपस्थित भए पनि अध्यक्षज्यूलाई पूर्व जानकारी गराएर अलि सावधानी अपनाएर टाढै बसेर बैठक सञ्चालन सहजीकरण गरेँ । एजेण्डामाथि छलफल हुन थाल्यो । सबै कुरा अध्यक्षज्यूले सहजीकरण र प्रष्टिकरण गर्न थाल्नुभयो । प्रस्तावित निर्णयमा फेरबदल हुने अवस्था देखिएन । छलफलकै क्रममा सबै निर्णय तयार गरेर प्रिन्ट कमाण्ड गरेँ र ओकबहादुरजीलाई बैठक सकिएपछि सही गराएर राख्नू म पछि सही गर्छु भन्ने आदेश गरेँ अनि आफू अस्वस्थ भएकाले आराम गर्न अध्यक्षज्यूसमक्ष अनुमति मागेर तुरुन्तै क्वाटरभित्र छिरेँ । खाना खान पनि किचनमा गएन; कोठामै खाएँ (भन्नलाई मात्रको खाएँ)।  राति कार्यकक्षमा दुईवटा फाइलमा सही गरेँ र बैठकका निर्णय व्यवस्थापन र कार्यान्वयनका लागि पत्र लेख्ने काम गरेँ । कोठामा आउँदा शरिरबाट पसिना आउने, निधारमा मात्र ज्वरो आएको महसुस हुने, शरिर थरथरती काँप्ने हुन थाल्यो । निद्रा लागेन । खोकी लाग्दा श्वासप्रश्वासमा केही अवरोध भएको जस्तो हुन थाल्यो । रिस उठेपछि कम्प्यूटर खोलेर केही वेबसाइट ब्राउज गरेँ र केही लेख्न थालेँ ।

जेठ ३१ र असार १ गतेका दिन भूम्या पर्वको अवसरमा बिदा दिएकाले जेठ ३१ देखि असार ५ सम्मको बीचमा गाउँपालिकाको मध्यमकालीन खर्च संरचना तर्जुमा कार्य गर्ने गरी राती कार्यतालिका बनाएँ । कार्यतालिका बमोजिम MTEF Chunking Down गर्दै जानुपर्ला भनेर २ बजेतिर सुतेँ । सपनामा पनि MTEF Chunking Down देखिन थालेपछि आत्तिएर उठेछु भर्खर ३ बजेको रहेछ ! उठ्दा शरिर कमजोर महसुस भैरहेको थियो । केही गर्न पनि ताकत नलागेपछि मोबाइल बनाएर शव आसनमा योग निद्रा अभ्यास गरिरहेँ । जेठ ३१ गतेका दिन दिनभर कोठामै बसेँ । मध्यमकालीन खर्च संरचनाको ढाँचा तयार गर्न खोजेको दिमाग नै चलेन । त्यसपछि नयाँ काम गर्छु भनेर दिनभर आर्थिक वर्ष २०७८।०७९ को वार्षिक कार्यपात्रोमा लागेँ । अध्यक्षज्यूले बाहिरैबाट रोगले च्यापेको त छैन नि भनेर बोलाएको बाहेक कतिखेर साँझको ६ बज्यो पत्तै पाइएन । साँझको खाना कोठामै आयो तर खाएन । कसैलाई पनि कोठामा आउन दिएन । राति अलि बढी नै अप्ठ्यारो भयो । आँखा काँच्चै बसे । रातभर योगासन (पद्मासन, ध्यान, शवासन)मै बित्यो । पसिनाले भिजेको कपडा दुई पटक फेरियो । छातीमा केहीले थिचेजस्तो महसुस भएर सास फेर्न कठिन भयो ।

असार १ गते बिहानै ललिता बहिनीलाई फोन गरेर तातोपानी ल्याइदिन अनुरोध गरेँ । तातो पानीमा बोझो राखेर बाफ लिएपछि केही हल्का महसुस भयो । त्यसपछि आफूलाई कोभिड १९ को लक्षण देखिएकाले कोठामै आइसोलेट भएको र उपचारका लागि औषधी दिन स्वास्थ्य संयोजक उपेन्द्र यादव सर र हेअ सञ्जिव खड्का सरलाई अनुरोध गरेँ । उहाँहरुले सिटामोल, सामान्य खालको एन्टिबायटिक र खोकीको औषधी दिनुभयो । खोप पनि लगाएकाले कोरोना लागे पनि आफूलाई धेरै गाह्रो नहोला भन्ने बुझाइ थियो । त्यसैले सुरुमा त्यत्तिकै पचाउन कोसिस गरेँ । त्यसपछि औषधी मागे पनि सास फेर्न गाह्रो भएको महसुस भएपनि खोकीले होला भनेर अक्सिजनको व्यवस्था गर्न भनिन । दिनभर कार्यकक्षमै बसेर फेरि आगामी आर्थिक वर्षको वार्षिक कार्यपात्रो तयारीमै लागेँ । बिदाको दिन भए पनि मेरो कार्यकक्षमा सुरक्षा निकाय र प्राविधिक कर्मचारी साथीहरु आइराख्न थाल्नुभयो । कोठामा पर्याप्त भेन्टिलेसन नभएकाले मलाई आफूबाट अरुलाई सर्छ कि भन्ने चिन्ता लाग्न थाल्यो । कोरोना संक्रमको विषयमा आफूलाई जति कठिन भए पनि अरुलाई संक्रमणको कारण आफू नबनियोस् भन्ने मेरो मन्त्र हो सुरुदेखि नै । स्वास्थ्य, कृषि, पूर्वाधार, लेखा र सुरक्षाका साथीहरु आउन थालेपछि मलाई कोभिडको शङ्का छ तपाईहरु मेरो सम्पर्कमा नआउनुस्, मलाई शान्त भएर काम गर्न दिनुस् भनिदिएँ । कोठामा सास फेर्न अलि गाह्रो महसुस भएपछि बाहिर पनि निस्किएँ। खोकी लाग्ने, पसिना आउने, शरिरका जोर्नीहरु दुख्ने र थकाई लाग्ने भएकाले बाहिर धेरै बेर उभिनै नसक्ने अवस्था आयो । साँझपख किचनमा गएर टाढै बसी थोरै खाना पनि खाएँ । आफूले खाएको थाल आवासको वास रुपमा लिएर राखेँ र छिटो छिटो कोठामा छिरेँ । राति बढी च्याप्न थाल्यो । कसैलाई केही भनिन । सीर्फ सहेर बसें । मनमा धेरै कुरा खेल्न थालेँ । असार लाग्यो । एकातिर कोरोना र लकडाउनको बहानामा कर्मचारी नहुँदा, उपभोक्ता नआउँदा, सम्झौता नहुँदा थुप्रै कामहरु पछि धकेलिएका छन् । सिफ्टमा चलेको बैङ्क सबै कर्मचारी संक्रमित हुँदा पूरै बन्द भयो । अर्कोतिर कोभिड १९ समुदायस्तरमा फैलिएको छ, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई एकछिन फूर्सद छैन । आफ्नो काम भने कुर्सीमै बसेर कोभिड व्यवस्थापन योजना बनाउने, छलफल गर्ने, कन्भिन्स गर्ने, भर्चुअल बैठकमा सहभागी हुने, कर्मचारीको मनोबल बढाउन कोसिस गर्ने र विभिन्न निकायमा सूचना तथा प्रष्टिकरण दिने काम जस्ता कुर्सी विद्वान गफमै समय बितेको छ । भर्खर बैंक खुलेको छ । कर्मचारीहरु पनि भर्खर कार्यालय फर्कँदै छन् । उपभोक्ताहरु सम्झौता भुक्तानीका लागि आउँदैछन् । यो अवस्थामा म बिरामी भएँ भने पनि काम जसरी पनि गर्न सक्छु तर अरु कर्मचारी बिरामी भए भने त मेरो जति मनोबल र इच्छाशक्ति नहोला । कार्यालय सिल गर्न दवाब आउँछ । अझ कतिले खोपको साइड इफेक्टको डरले खोप लगाएका छैनन् । उनीहरुलाई केही भइहालेमा त्यसको जिम्मेवारी मैले लिनुपर्छ । जिम्मेवारी नलिए नलिउँला तर केही भयो भने ? उसको सपना, परिवार, सम्भावनाको के हाल होला ? राज्यले उसमा गरेको लगानी सबै खेर जान्छ ।

वास्तवमा हामी राज्यले केही गरेन, सरकारले केही सकेन भनेर सडकमा टायर बाल्छौं । यसो र उसो गर्नुपर्थ्यो भनेर पत्रपत्रिकाका पाना भर्छौं ।  फलानो देशमा, ढिस्कानो नेताको पालामा यसो र उसो भयो भनेर घण्टौं बहस र भाषण गर्छौं । अनि फेरि अन्तमा राज्यले केही पनि गरेन । मेरो देश खत्तम । केही सम्भावना छैन भनेर विदेश लाग्छौं अनि विदेशबाट फेरि सबैभन्दा बढी राष्ट्रभक्त हुन्छौं । विदेशबाटै स्वदेशको लागि केही गर्छौं पनि । लाखौं यूवा शक्ति विदेश पलायन हुनुमा सरकारदेखि सर्वसाधारणसम्मको दोष पनि छ । यद्यपी राज्यले मेरा लागि केही गरेन त ? म आफ्नो बाल्यकाललाई सम्झन्छु । एक कक्षामा पढ्दा मैले धेरै लेखेर कापी कलम खर्च गर्दा बाले दिनमा एक रुप्पेको सुई र एक रुप्पेको कापी सक्दा महिनामा मेरो पचास रुप्पे खर्च हुन्छ, वर्षमा पानसौ रुप्पे खर्च हुन्छ भनेर दुःखी हुँदा अरुको छोराछोरीले पाँच रुप्पेको कलम र दश रुप्पेको कापीमा लेख्छन् अनि बाटोमा चकलेट खान्छन् र कोही त झन बोर्डिङमा फिस तिरेर पढ्छन् तर मैले यतिधेरै पैसा बचाउँदा पनि बालाई किन खुशी छैन भन्ने लाग्थ्यो। बिरामी हुँदा स्यालापाखे सरबाट २५ रुपियाँको औषधि किन्दा बालाई धेरै समयसम्म परिवारका सदस्यहरु बिरामी भएमा के पैसाले उपचार गर्ने भन्ने पीर पर्थ्यो । अहिले आएर बल्ल बुझ्दैछु मैले पढ्ने स्कुलको भवन बनाएर, शिक्षकलाई तलब दिएर मेरो फिः त सरकारले तिरिदिएको रहेछ ! मैले खाने जुकाको औषधी, प्राथमिक स्वास्थ्य चौकीबाट गाउँमा निःशुल्क पाइने टिञ्चर, जिबी र सिटामोल तर सरकारले किनिदिएको रहेछ !  मेरो घरमा गाइभैंसी, बाख्रा बिरामी हुँदा भेटनरी डाक्टरलाई लिएर जाँच गराई निःशुल्क पाइने औषधी सरकारले किनेको रहेछ । स्कुलबाट फर्किँदा कृषि सेवा केन्द्रबाट निःशुल्क काँक्रो, फर्सी, स्क्वायसको बीऊ पनि सरकारले पनि किनिदिने रहेछ । अझ अहिले त म हिड्ने गोरेटो बाटो पनि सरकारले खनिदिन्छ । गुणस्तरीय शिक्षाका लागि निःशुल्क पाठ्यपुस्तक, शिक्षण सामाग्री, शिक्षकलाई तालिममा सरकारले धेरै खर्च गर्छ । गुणस्तरीय स्वास्थ्यका लागि स्वास्थ्यकर्मीलाई औषधी, अत्याधुनिक सामाग्री देखि तालिमसम्म सरकारले धेरै खर्च गर्छ । सीप सिकेर कमाइ खाने होओस् भनेर भत्ता दिएर सीपमूलक तालिम दिनलाई सरकारले कति धेरै खर्च गर्छ । बिरामी नहोओस्, नठगिओस्, टाठोबाठो होओस् भनेर चेतनामूलक तालिम दिन सरकारले कति धेरै पैसा खर्च गर्छ । अरु त अरु नियमित हात धुन र आची शौचालयमै गर्न सिकाउन समेत सरकारले कति पैसा खर्च गर्छ । सार्वजनिक पद धारण गरेका ठूला व्यक्तिव्य र हामीजस्ता सरकारी कर्मचारीमा सरकारले गर्ने लगानीको त के कुरा गर्नु ? हाजिर गरे वापत मासिक तलब दिन्छ । आफ्नै काम हो बैठक बस्ने; तर बैठक बसेवापत पनि भत्ता दिन्छ । हेरे वापत अनुगमन भत्ता दिन्छ । घुमे वापत भ्रमण भत्ता दिन्छ । सुनिदिएको, हेरिदिएको पनि भत्ता दिन्छ । पैसा तिरेर लिनुपर्ने तालिम, गोष्ठी, सेमिनारमा नियमित तलब त छँदै छ त्यसमा थप तालिम, गोष्ठी, सेमिनार वापतको भत्ता दिन्छ । तारे होटलमा निःशुल्क खाने बस्ने अनुभव दिन्छ । यी सबमा राज्यले किन लगानी गर्छ त भनेपछि सार्वजनिक पदाधिकारी वा राष्ट्रसेवक कर्मचारीले आफ्नो पोटेन्सियल समय राज्यलाई दिएवापत क्षतिपूर्ति र प्रोत्साहनका लागि, सार्वजनिक पदाधिकारीलाई हरतरह सक्षम र सुसंस्कृत गराउनका लागि, नवीनतम ज्ञान, सीप र प्रविधिलाई कार्यक्षेत्रमा प्रयोग गर्नका लागि, उसको सामाजिक स्वाभिमान र सम्मान बढाउनका लागि, सदाचार र नैतिकवान बनाउनका लागि राज्यले विभिन्न किसिमले लगानी गरिरहेको छ । यति धेरै लगानी गरेको एउटा मात्र साँढा ढल्यो भने राज्यलाई कति घाटा छ । राज्य भनेको त मै हुँ । सरकार चल्ने भनेको त मेरै पैसाले त हो नि। मेरै परिश्रमले चलेको त हो नि । हरेक “म”हरुले आफ्नो गास कटाएर गच्छेअनुसारको योगदानले न सार्वजनिक कोष बनेको हो । त्यही कोषले न सरकार चलेको हो । सरकार सक्रिय भएर न राज्यको अस्तित्व रहेको हो । त्यसैले राज्य भनेको म नै हुँ । एउटा जनशक्ति घट्दा, सार्वजनिक कोषको एक रुपैया बढी दुरुपयोग हुँदा घाटा त मलाई नै हुन्छ । त्यसैले कसैलाई केही पनि हुनुहुन्न । त्यसका लागि मैले साँप पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी उपाय निकाल्नुपर्छ । त्यो उत्तम उपाय भनेको तुरुन्तै शैक्षिक तालिम हलको कम्प्यूटर ल्याब कक्षमा आइसोलेट भएर बस्ने, भेन्टिलेसन पर्याप्त भएको र सिसाको झ्याल भएकाले मास्क, स्यानिटाइजर, ग्लोब्सको प्रयोग गरेर पूर्ण स्वास्थ्य मापदण्डमा आधारित सेवा प्रवाह नियमित गर्ने भन्ने निश्कर्ष निस्कियो । जेठ ३१ र असार १ गतेको बिदाको दिनमा कर्मचारी साथीहरुबाट मध्यमकालीन खर्च संरचना तर्जुमा कार्यमा आवश्यक तथ्याङ्क र सहयोगको अपेक्षा गरेको थिएँ । सबै जना कार्यालयमै भए पनि अपेक्षित सहयोग पाइएन।

असार २ गते बिहान शवासनमै ध्यान गरेर मुस्किलले फोन तानेँ अनि ललिता बहिनीलाई बाफ लिनका लागि तातो पानी ल्याइदिन अनुरोध गर्न फोन गरेँ । सायद ललितालाई पनि गाह्रो भएको रहेछ क्यारे फोन उठेन। निक्कै समयपछि मात्र आएर सोधपुछ गरिन् अनिल तातो पानी लिएर आइन् । बोझो राखेर केही बेर तातो पानीको बाफ लिएपछि केही हल्का महसुस भयो र सबभन्दा पहिले निस्केर तालिम हलतिर छिरेँ । उपेन्द्र र सञ्जिवसँग आफूलाई कोरोना लागेको लक्षण देखिएकाले २ गतेदेखि सेवाग्राही आउने भएकाले सुरक्षित सेवा प्रवाहको व्यवस्था मिलाउन आजै कम्प्यूटर ल्याबमा आइसोलेट हुने विचार सुनाएँ । म कार्यालय प्रमुख भएको कारण पनि हुन सक्छ उहाँहरुले कोभिड नै हो भन्ने निश्चित नभएकाले कोठामै बसेर आराम गर्न, आइसोलेसनमा नबस्न सुझाव दिनुभयो । तर कोभिड हो भन्ने आफूलाई पूर्ण विश्वास लागेकाले अरुलाई नसरोस् भन्नका लागि आइसोलेसनमा बस्ने निर्णय सुनाएँ । १४ दिनपछि मात्र बाहिर निस्कने भएकाले वारिपारि एक फन्को लगाएँ । बजारतिर दूरी कायम गरेरै केही भलाकुसारी पनि गरे फर्केँ । अरुलाई संक्रमण जोखिम नहोस् भन्नका लागि कम्प्यूटर ल्याब आफै सफा गरेँ । कसैलाई भित्र छिर्न अनुमति दिएन। ओकबहादुर, तेजबहादुर, ललिता सबैले सघाउने कोसिस गर्नुभयो तर मैले हकारेर म पसेको कोठामा पस्न दिएन । कार्यकक्षबाट प्रिन्टर, महत्वपूर्ण फाइलहरु ओसार्न लगाएँ । ललिता बहिनी भने म बाहिर निस्केको मौका पारेर कम्प्यूटर ल्याबको धुलो पुछ्न थालिछिन् । मैले म बस्ने कोठामा धेरै सम्पर्कमा नरहन अह्राएँ तर यति ठूलो कोठा, यति धेरै कम्प्यूटरको धुलो पुछ्न एक्लै सक्नुहुन्न टाढैबाट सफा गरिदिन्छु भनेर जिद्धी गर्न थालिन् । कोठा सफा भएपछि आफ्नो लट्टाकपडा र बन्दोबस्तीका सामानहरु कसैलाई छुन नदिएर आफैं ओसारेँ । अझैं पनि फूर्सदमा पढ्न भनेर कोठाबाट मन पर्ने ४ वटा किताब र लेख्न डायरी कलम ओसारेँ । एकैछिनमा कम्प्यूटर ल्याबको अगाडिको भाग कार्यालयमा परिणत भयो । पछाडिको भाग पूर्ण कोठा । नमान्दा नमान्दै साथीहरुले काँक्री हस्पिटलबाट एउटा बिरामी बेड पनि ल्याउनुभयो । आइसोलेसनमा बसेर काम गर्ने क्रममै प्रमुख जिल्ला अधिकारी राजकुमार राई सरबाट फोन आयो । मनसुन प्रतिकार्य योजनाबारे फोनमै केही बेर कुरा भयो । आफूलाई लामो समय कुरा गर्न कठिन हुन थालेपछि कोभिडको लक्षण देखिएकाले आइसोलेसनबाट काम थालेको जानकारी गराएँ । उहाँबाट ठीक भइहाल्छ होला भनेर बस्दा निर्णय आत्मघाती हुन सक्ने भएकाले समयमै जाँच गराउन र सोही बमोजिमको उपचार गराउन सुझाव दिनुभयो । आफूलाई सास फेर्न कठिन भएको तर घरपरिवार आतिन्छन् भनेर कसैलाई नभनेको कुरा झल्याँस्स भयो । अक्सिमिटर र थर्मोमिटर आफैसँग भएकाले बेला बेलामा जाँच गर्दा ज्वरो १०० डिग्रीभन्दा माथि भैरहन्थ्यो भने अक्सिजन लेभल ८८, ८९, ९० हुन्थ्यो । कति बेला त ८१/८२ पनि देखाउँथ्यो तर डिजिटल अक्सिमिटर भएकाले एरर होला भनेर केही भनेको थिएन । अब भने केही डर लाग्न थाल्यो, तुरुन्तै फोन गरेर अक्सिजनको व्यवस्था पनि गरिदिन अनुरोध गरेँ । लक्षण देखियो भन्ने हल्ला चलेछ क्यारे ! धेरै फोन आउन थाले । फोन उठाउन पनि झञ्झट लाग्थ्यो । काँक्रीबाट डा. अशोक र तिलक जेठान तत्काल आएर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो र केही ढाडस दिएर जानुभयो । उहाँहरुलाई मैले आफू एकदम ठीक रहेको जानकारी गराएँ । तिलक रोका जेठानले भोलिपल्ट फलफूल लिएर आउनुभयो । चेहरा हेरेरै थाहा पाउनुभयो । अलि बढी च्याप्न थालेछ केही अप्ठ्यारो हुने बित्तिकै फोन जतिबेला पनि फोन गर्नुहोला भनेर जानुभयो । आफूलाई आत्मविश्वास त थियो नै तर उपेन्द्र यादव र सञ्जिव खड्का दिनमा तीन/चार पटक आएर उपचार गर्नुपर्ने अवस्था आएमा अक्सिजन तथा औषधी पर्याप्त भएकोले नआत्तिन भनिरहनु भयो । दिउँसो लेखा अधिकृत गणेश वली सर मेरो आइसोलेसन कोठामा छिरेर आफूलाई पनि लक्षण देखिएकाले यतै सर्छु भन्नुभयो । मैले तुरुन्तै हकारेर कोभिड जाँच गरेर पोजिटिभ भएपछि मात्र यो कोठामा छिर्नू अन्यथा मेरो अनुमति बिना भित्र नछिर्नू भन्ने आदेश नै दिएँ । एकछिनपछि उपाध्यक्षज्यू कोठामै छिरेर कुर्सीमा बसी मेरो स्वास्थ्य अवस्था बारे बुझ्नुभयो । कोठामा नछिर्न र कुर्सी नछुन अनुरोध गरे पनि मान्नुभएन । साँझपख दुइवटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखेर कोठामा कन्सर्नट्रेटर समेत जोडियो । कोभिड जाँचको नतिजा पनि आयो । गणेश र ललिता पनि पोजिटिभ हुनुभयो । तालिम हल र कम्प्यूटर ल्याबको दुइवटै कोठा आइसोलेसन बन्यो । रातभरको ज्वरो, खोकी र सास फेर्न गाह्रो भएपछि सुत्न सकिएन । सुत्न नसकेपछि बेला बेलामा योगासन गर्दै ल्यापटपमा बजेट तथा योजना तर्जुमा सम्बन्धी काम गरेर बसेँ । कोठामा अक्सिजन कन्सर्नट्रेटरको व्यवस्था भएकाले सास फेर्न गाह्रो भएका बेला अक्सिजन जोडेरै बसियो । अक्सिजन जोड्दा श्वासप्रश्वासमा धेरै हल्का हुने रहेछ । सास फर्ने गाह्रो भएको कुरा भने घरपरिवार, कार्यालयका साथीहरु कसैलाई भनेन ।

खाना खान रुचि नलाग्ने, लगातारको खोकी, ज्वरो र दुःखाईको कारण हुन सक्छ शरिरमा शक्ति नभएको महसुस हुन थाल्यो । ४ गतेको रातसम्म त मरिन्छ कि बाँचिन्छ भन्ने भयो । जुनसुकै औषधी खाए पनि २० को १९ भएन । जति औषधी खाए पनि केही फरक नपर्ने । तै पनि भन्नलाई सुधार भैरहेको छ भनिररहेँ ।  ५ गतेदेखि बल्ल एक दुई घण्टा मात्र भए पनि निद्रा लाग्न थालेपछि बल्ल केही सहज महसुस हुन थाल्यो । स्लिप मनिटरिङ हेर्दा सुताई दुई घण्टा भए पनि डिप स्लिप (गहिरो निद्रा) भने २-५ मिनेट मात्र। म आफू अवचेतन मनको शक्तिमा विश्वास गर्छु । हरबखत मेरो मुखबाट सदाचार, नैतिकता र सकारात्मक सोंचको प्रवचन सुनेर कार्यालयका कतिपय कर्मचारी साथीहरु त आजित भएका होलान् । बिहान सँगै बसेर चिया पिउँदा होस् वा खाना खाँदाऽ मेरो मुखबाट आदर्श र सदाचार बारे प्रवचन निस्कन थालेपछि छिटोछिटो बहाना बनाएर भाग्छन् कोही कोही । यस मानेमा म अलि बढी नै नचाहिने आदर्श, सदाचार र नैतिकताको कुरा गर्छु कि जस्तो लाग्छ । आफूलाई कमै रिस उठ्ने, आस्तिक, जुनसुकै समय काम गर्न डर वा अल्छी नलाग्ने,  चुनौतिसँग खेल्न मन पराउने आफ्नो गुणका आधारमा स्वमूल्याङ्कन गर्दा आत्मविश्वासमा अरुभन्दा एक कदम अगाडि छु, मनोबल उच्च छ जस्तै लाग्थ्यो । सकारात्मक सोँच र चिन्तनमा अलि विश्वास गर्छु भन्ने लाग्थ्यो । तर, मनोबल भनेको शरिरका सबै प्रणालीमा बल र विश्वास हुँदासम्म मात्र हुने रहेछ भन्ने प्रमाणित आफैमा भयो । नकारात्मक विचार आउन दिन्न भन्ने लागे पनि आफै आइहाल्दो रहेछ । मलाई बारम्बार एउटै कुराले धेरै सतायो त्यो होः “कोभिड १९ बाट बाँच्न आत्मबल बलियो हुनुपर्छ भन्छन्, तर अहिलेसम्म कोभिडका कारण जतिले प्राण त्यागे; के तिनीहरुले अन्तिम सास फेर्दासम्म सकेसम्म बाँच्नुपर्छ भन्ने मन भएन होला र ? बाँचिन्छ कि भन्ने आशा थियो होला कि थिएन होला !” अरु बेला मृत्युदेखि खास्सै डर लाग्दैनथ्यो तर कोरोनाका बेलामा कता-कता पारिवारिक मोह, सांसारिक माया र सपनाको संसारले डेरा जमायो । डर पनि लाग्यो र जसरी पनि बाँच्नुपर्छ भन्ने भाव जागृत भयो । बिरामी भएको खबर पाएपछि घरबाट बहिनीहरु खानेकुरा लिएर भेट्न आए । श्रीमतिले तागतवर्द्धक खानेकुराहरु पठाइदिइन् ।धेरै जनाले धेरै खानेकुरा र कोशेली लिएर भेट्न आउनुभयो । बाबा आमा भेट्न आउनुभयो । छिटोछिटो जलजला पूजा गर्न जानुभयो । श्रीमती बिमला यतै आएर सहयोग गर्छु भनेर धेरै कोशिस गरे पनि मेरो अनुशासन र निर्णयमाथि उनीहरुको डेग चलेन। यो संसार कति सुन्दर छ भन्ने अनुभूति भयो। वास्तवमै शुभचिन्तक कमाएको रहेछु जस्तो लाग्यो। धेरैले फोन गर्नुभयो तर कुरा गर्न सकेन। सोँच्दै नसोचेका धेरै वरिष्ठ र अग्रज व्यक्तित्वहरुबाट मिठो सहानुभूति प्राप्त भयो। फेसबुक, भाइबर, ह्वाट्स एप लगायत सामाजिक सञ्जालमार्फत आएका धेरै शुभचिन्तक, अग्रज आदरणीय व्यक्तित्वहरुको शुभकामनालाई धन्यवाद भनेर जवाफ फर्काउन पाएको छैन । धन्यवाद फर्काउन पनि सायद एक दिनभरि नै लाग्छ । म मरे भने मेरो सपना, परिवार, समाज र राज्यलाई घाटा लाग्छ, मेरा शुभ चिन्तकहरुलाई पीर लाग्छ भन्ने लाग्यो । जसले गर्दा जसरी पनि कोरोनालाई जित्न उत्प्रेरित गरिरह्यो । कोरोनालाई जित्न अनेक उपायको खोजी र व्यवहार पद्धतिको पालना गरियो ।  

  • नियमित योग र ध्यानः

सकेसम्म छोटो समयका लागि मात्र भए पनि कुनै न कुनै किसिमबाट दैनिक योग गर्छु। सायद योगकै कारण हुनुपर्छ कम सुते पनि अहिलेसम्म स्वास्थ्यमा नकारात्मक असर देखिएको थिएन । कोरोना लागेपछि भने स्थुल व्यायाम, आसन गर्न पटक्कै जाँगर चलेन । शारीरिक रुपमा शक्ति चाहिने किसिमका आसन गर्न नसकेपछि मैले बढी भन्दा बढी योग निद्राको अभ्यास, शवासन, नौकासन, बज्रासन र मन्त्र योग गरेँ । विस्तारै विस्तारै गायत्री मन्त्र जप्ने, ध्यान गर्ने, परिकल्पना गर्ने गरेँ । यी सब अरुलाई डिस्टर्ब नहोस् भनेर विशेष सावधानीका साथ नियमित गर्ने प्रयास गरेँ ।

  • स्टिकर मनोविज्ञानः

आफूलाई केही कठिन भएको महसुस भएपछि तुरून्तै कम्प्यूटरको सबै एप्लिकेसन बन्द गरेर डेस्कटप हेर्थेँ । मैले डेस्कटपमा “मैले कोभिड १९ लाई जित्छु” भन्ने शब्द भएको वालपेपर सेट गरेको थिएँ । मैले काम गर्ने ठाउँको अगाडि झ्याल र ढोकामा पनि सोही कुरा प्रिन्ट गरेर टाँसेको थिएँ । मैले हरेक आधा घण्टामा उक्त स्टिकर पढेर भन्ने गर्थेँ “म निको भएँ । मैले कोभिड-१९ लाई जित्छु।”

  • पोशाक मनोविज्ञानः

आफूलाई जति नै गाह्रो भए पनि कार्यालयको सेवा प्रवाहमा कुनै कमी आउन नदिने अठोट गरिसकेको थिएँ । स्वास्थ्य सुरक्षा मापदण्डमा कुनै कसर बाँकी नराखी कसैलाई नसार्ने गरी सेवा प्रवाह र कार्यालयको कामलाई यथावत राख्ने अठोट बमोजिम आफ्नो कार्यस्थलमा खटिरहेँ। आइसोलेसनमा बसेको भए पनि कार्यालय समय हुँदा साथ शनिबारको दिन बाहेक हरेक दिन निजामती पोशाकमा सजिएँ । पोशाकमा सजिनुको पछाडि दुइटा कारण छन् – पहिलो हो राज्यको सिन्दुर पहिरिएको मानिस अनुशासित हुनुपर्छ । पोशाक लगाउने भनेर वार्षिक भत्ता दिएपछि पोशाक लगाउनुपर्छ। पोशाक पनि मेरो अनुशासन हो । आइसोलेसनमा बसे पनि आत्मअनुशासनबाट बिमुख हुनुहुन्न भन्ने मान्यताले पोशाक निरन्तर लगाइरहेँ । अर्को कारण, म अरु दिनमा झैँ पोशाक लगाएर कार्यालयमा काम गरिरहेको छु । म अस्वस्थ भएको भए त हस्पिटल बेडमा पल्टिएको हुन्थेँ। म ठीक छु, कोरोना लागे पनि सञ्चै छु त्यसैले त पोशाकमा रहेर काम गरिरहेको छु भन्ने आत्मविश्वास बढाउन । जे होस् पोशाक मनोविज्ञानले पनि काम गरेको हुनुपर्छ भन्ने लाग्छ ।

  • अधिकतम् व्यस्त

कोभिड लागेकै छ भन्ने विश्वस्त भएपछि आत्मबल बलियो बनाउछु भने पनि बेला बेलामा खाली दिमागमा नकारात्मक विचारहरु पनि आउने रहेछन् । नकारात्मक विचार मनको विकार हो भन्ने मेरो बुझाई रहेकाले ती त्यस्ता नकारात्मक विचार नआऊन् भन्नका लागि आफूलाई अधिकतम् व्यस्त राख्ने योजना बमोजिम ४ वटा मन पर्ने पुस्तक र कापी लिएर आइसोलेसनमा छिरेको थिएँ तर कार्यालयको असारे कामसँगै नीति तथा कार्यक्रम, बजेट वक्तव्य, वार्षिक विकास कार्यक्रमको किताब, मध्यमकालीन खर्च संरचना तर्जुमा जस्ता कार्य एकदम छोटो समयमा गर्नुपर्ने र त्यही माथि विभिन्न समिति, कार्यालयहरुको भर्चुअल बैठकले अरु बेलाभन्दा बढी नै व्यस्त भैयो । शरिरका सबै भाग दुख्ने, पसिना आउने, खोकी लाग्ने, बेला बेलामा श्वासप्रश्वासमा कठिनाई भए पनि कोरोना लागेको भन्ने बिर्सिएँ । बिर्सिने पनि कतिसम्म भने छेवैमा सुतेका गणेश वली सरलाई बेला बेलामा कस्तो छ भनेर सोध्न समेत बिर्सन्थेँ । आराम नभए पनि व्यस्तताले कोरोनाप्रतिको डर कम गराइदियो ।

  • उपचारका लागि पूर्ण तयारी

कोभिड १९ संक्रमण जोखिमको सुरुको अवस्थाभन्दा अहिले केही सुधार भएको छ । अति चर्को मूल्य तिरेर भएपनि नागरिकको स्वास्थ्यका लागि जोखिम मोलेर व्यवस्था गरिएका अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नट्रेटर, औषधीको पर्याप्तता नै छ । त्यसमा पनि डा. अशोक, ‍जस्वानि उपेन्द्र यादव, हे.अ. सञ्जिव खड्का, सि.अहेब तिलक रोकाले निरन्तर चासो राख्नुभयो । कोठामै कन्सर्नट्रेटर जोडिएको छ। जसले गर्दा मलाई उपचारै गर्नु परे पनि पूर्ण तयारी छ भन्ने विश्वस्त भएँ। यसले पनि धेरै मनोबल बढायो ।  

  • उपयुक्त परामर्श

कोभिड संक्रमण भएको थाहा पाएपछि के गर्न हुने र के गर्न नहुने बारे कोभिड १९ लाई जितेका व्यक्तिहरुको अनुभव, उहाँहरुको सल्लाह र स्वास्थ्यकर्मीको सल्लाहले मनोबल बढाउन र जटिल अवस्था आउन नदिन धेरै भूमिका खेलेको हुनुपर्छ भन्ने विश्वास लागेको छ ।

  • सामाजिक सञ्जालको न्यून प्रयोगः

पछिल्लो समय धेरै समय फेसबुक स्क्रलमा खर्च भएको र प्रत्युत्पादक भएको निश्कर्ष सहित फेसबुक फिड स्क्रल अलि कमै गर्छु । फेसबुकको न्यूज फिड कम हेर्ने, अनलाइन समाचार नपढ्ने बानीले विभिन्न गतिविधि र सामाजिक समाचारबाट अलि बेखबर छु आजकाल । त्यसको फाइदा भनेको आज कति सङ्क्रमित भए र कति मरे भन्ने नकारात्मक समाचारबाट बचेको पनि छु। त्यही सिद्धान्त बमोजिम फेसबुक खोले पनि न्यूज फिड र नोटिफिकेसन छोएन । संक्रमण भएपछि कतिजना संक्रमित भए र कति जना मरे भन्ने जानकारी एउटा पनि पाएको छैन ।

आफ्नै बुझाई र निश्कर्ष

अल्पसङ्ख्यक, पीडित वा कमजोर वर्गका व्यक्तिको मनोबल कमजोर हुन्छ, उनीहरुमा अलि बढी तनाव र चिडचिडापन हुन्छ भन्ने कुरा महसुस गर्ने मौका मिल्यो । आफू बोल्नै नमिल्ने गरी बिरामी छु । कोठाको साथी निक्कै बिरामी छ । राती सकी नसकी नीति तथा कार्यक्रम र बजेट वक्तव्य लेख्न तम्सिएको छु । कर्मचारीहरु साथीहरुलाई कसरी उत्प्रेरित गर्ने भनेर चलाख शब्द घुसाउन मथिङ्गल चलाइरहेको छु। कर्मचारी साथीहरुको भरपूर सहयोगको अपेक्षा लागेको बेला कतिले अति नै गर्नुहुन्छ, कतिले अर्कै अति पनि गर्न खोज्नुहुन्छ। त्यसैबेला संगठित साथीहरुको ९ बुँदे ज्ञापन पत्र पेश गर्नुभयो । पेशागत हकहितका सन्दर्भमा त्यसलाई सामान्य रुपमा लिएँ। ज्ञापन पत्र पढ्दा लाग्यो साथीहरु यति राम्रो पनि लेख्न सक्ने रहेछन्, मेरो निरन्तर जोड र अपेक्षा जस्तै लेखनमा मिठास र स्तरीयताले खुशी लाग्यो । ९ वटा बुँदा मध्ये ४ वटा बुँदा बजेट वक्तव्यमा घुमाउरो किसिमले पहिल्यै घुसिसकेका थिए बाँकी पूरा नहुने खालका देखिए तर साथीहरुले खोजेको अर्कै हो र अहिल्यै पूरा नहुने कुरामा अवश्य बखेडा निकाल्छन् भन्ने शङ्का पनि लागिरहेको थियो । असार ९ गते सभामा नीति तथा कार्यक्रम प्रस्तुत भयो । म भौतिक रुपमा उपस्थित भएन बरु बजेट वक्तव्यको अनुसूचीका लागि मोबाइलमा क्याल्कुलेटर थिचिरहेँ । लेखा अधिकृत गणेश वलीलाई सुधार भएन संक्रमित व्यक्ति भएकाले काँक्री अस्पतालसम्म पुर्‍याउने अरु भएनन् मैले नै बाइकमा पुर्‍याएँ । दुवै जनाले रगत जाँच गर्‍यौं रिपोर्ट आउन ढिला भएपछि ल्यापटप लिएर आउनुपर्ने रहेछ भन्ने छटपटी भैरह्यो। रिपोर्ट आएपछि गणेशलाई इन्जेक्सनबाट औषधी दिन थालियो । क्यानोला ब्याण्डेजले बाँधेर फर्कियौं । कार्यालय पुग्दा मैले कार्यालयमा बस्दा तोकिएको पोशाक लगाउन भन्दा अनेक बहाना गरेर कहिल्यै पोशाक नलगाउने व्यक्ति पोशाक र परिचयपत्रमा सजिएको देख्दा अचम्ममा परेँ । बिहानै तदर्थ समितिका जिम्मेवार पदाधिकारीबाट निजामती पोशाकमा आउन उर्दी सुनेको थिएँ कस्तो राम्रो ! सबैले पालना गरेछन् । अनि गणेश सरलाई भने अब ड्रेस लगाउने प्रचलन सुरु भएछ !  खुशी लाग्यो । जति गर्दा पनि गणेश सरलाई सुधार भएन । दैनिक अनिद्रा, ज्वरो, कार्यचापका कारण होला बोल्न र उभिन निक्कै कठिन हुन थाल्यो । काम परेको बेला इन्टरनेट र बिजुली नियमित नहुँदा कार्यसम्पादन सन्तुलन बिग्रिएको थियो । मध्यमकालीन खर्च संरचना, वार्षिक विकास कार्यक्रम र बजेट वक्तव्य एकैपटक तयार गर्नुपर्ने भएकाले मानसिक रुपमा पनि अलि बढी प्रेसरमा थिएँ । दिउँसो उपभोक्ताको चाप थियो नै सँगसँगै बजेट सम्बन्धी काम गर्दा बोल्न र सुन्न भनेपछि झर्को लाग्ने भैसकेको थिएँ । हामी कोठाभित्र थियौं । झ्याल बाहिरबाट डाक्टरले गणेश सरलाई क्यानोलाबाट औषधी चढाउँदै हुनुहुन्थ्यो । गणेश सरलाई म बस्ने कुर्सिमा राखेर म उभिएरै ल्यापटपमा हिसाब गर्दै थिएँ । त्यही बेला साथीहरु तदर्थ समितिको बैठकको निर्णयको माइन्यूट भन्दै डाक्टरले औषधी मिलाइरहेको बखत हस्तक्षेप शैलीमा चेतावनी पत्र थम्याउनुभयो र माग पूरा नभएकाले भोलि हामी कालो पट्टी बाँधेर पेन डाउन गर्छौं भनेर धम्क्याएर जानुभयो। साथीको स्वास्थ्यभन्दा प्रमुख प्रशासकीय अधिकृतलाई अल्टिमेटम पत्र बुझाउनुलाई बढी महत्व दिएको देखेपछि अलिअलि रिस पनि उठ्यो । रिसमै भनिदिएँ नीति तथा कार्यक्रम बजेट वक्तव्य होइन र हो भने पनि म निर्णायक होइन । सभा छ तपाईहरुको माग उतै राख्नुस अहिले उपचार गर्न दिनुस् भनेर ठूलो स्वरमा भनेँ । मलाई निक्कै नियास्रो लाग्यो । सीमित समयको लागि काजमा खटिएर आएको बेला त कुनै शर्त नराखेर सकेको जति दिनरात काम गरियो । यति धेरै काम गर्नुपर्छ मिल्ने ठाउँ छ भने भत्ताको प्रस्ताव लिएर आउनुस् स्वीकृत गर्न मिल्छ भने हामी स्वीकृत गरिदिन्छौं भनेर अध्यक्षज्यू लगायत जनप्रतिनिधिहरुले आफै प्रस्ताव लिएर आउँदा इन्कार गरिदिएँ । पुरस्कारका लागि सिफारिस गर्दा आफ्नो नाम कटाएँ । अवसरहरु हुँदा पनि पालिकामा नयाँ आउने नयाँ जोसका साथीहरुसँग मिलेर काम गरेको अनुभव गर्न गर्न थुप्रै अवसरहरु त्यागिदिएँ । अहिले आफूलाई अल्पमत र अप्ठेरोमा पार्न अनेक कोसिस गरेको कुराहरु पनि पुनः याद बनेर आए । स्थानीय तहमा भएका साथीहरुले केन्द्रको प्रमुख प्रशासकीय अधिकृतले हाम्रो भाग खोस्यो, कम्फर्टेबल हुन दिएन भन्ने सोचेका छन् कि भन्ने लाग्यो । आधा घण्टा मनमनै घोरिएँ । उता सँगै सुत्ने साथीको अवस्था २० बाट १९ हुन्न । विचरा पीडा लुकाउन आँखा चिम्लेर बसेको छ। काम गर्न खोज्दा दिमाग चलेन । एकछिनपछि फेरि साथीहरु आउनुभयो र मागका बारेमा केही बुझ्न खोज्नुभयो । एकछिन त काम छोडेर बोल्न मन लागेन तर बुझाउनु आफ्नो कर्तव्य ठानेर नीति तथा कार्यक्रम, बजेट वक्तव्य र वार्षिक विकास कार्यक्रमका बारेमा संक्षेपमा प्रष्ट पारेँ र भनेँ साथीहरु माग राख्न पाइन्छ, राख्नुपर्छ । बजेट वक्तव्यमा समावेश भएका केही कुरा समेत जानकारी गराएँ। बच्चा नरोएसम्म आमाले पनि दूध चुसाउँदैनन् । माग राख्नु स्वभाविक हो तर माग राखेर अप्ठेरो पार्न खोज्नु गलत हो । कालोपट्टी बाँध्ने र पेन डाउन गर्ने कार्य बेमौसमी बाजा हो । हचुवामै कालो पट्टी देखाउनु कूटनीति र अनुशासनको दृष्टिकोणमा गलत हो म त्यसलाई इस्यू बनाउदिन सही र गलत छुट्याउने जिम्मा तपाईहरुकै हो तर पेन डाउन भयो भने अलि फरक किसिमको कदम चाल्न पनि सक्छु भनिदिएँ ।

बजेट वक्तव्यको अनुसूची मिलाउँदैमा २ बजेको थाहै भएन । बत्ती निभेपछि मात्र थाहा भयो । ल्यापटपको ब्याट्री डाउन भएपछि एक घण्टा योगनिद्रा अभ्यास गरेँ । बिहान पनि हतार हतारमा काम गरेर बल्ल बल्ल बक्तव्य त तयार भयो तर फर्केर पढ्न पाइएन । बिहान गणेश सरको स्वास्थ्यमा सुधार नआएपछि एम्बुलेन्स व्यवस्था गरेर दाङ रेफर गरियो। अध्यक्षज्यूसँग चौरमै भेट भयो । कर्मचारी साथीहरुले कालो पट्टी बाँधेको देखेपछि अलि बढी रिसाउनुभयो । आफूलाई पनि रिस उठेकै थियो तर मैले स्वभाविक रुपमा लिन र स्वीकार गर्न अनुरोध गरेँ। जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध मजबुट बनाउन सक्दो सन्तुलनकारी भूमिका निर्वाह गर्ने प्रयास गरेँ भन्ने लाग्छ । सभामा पेश गर्ने विधेयकहरु, बजेट वक्तव्यको किताब तयार भएपछि बल्ल सभा सुरु भयो । उता सभा सुरु भएपछि म भने यता झण्डै दुई घण्टा आराम गर्ने मौका पाएँ। साँझ गणेश सर सकुशल बेलझुण्डी पुगेको र ज्वरो नबढेको खबर पाएपछि आनन्द लाग्यो । थालीमा राखेको खाना पनि नफालेर खाएँ ।

कोभिड १९ प्रति शुरुमा मेरो धारणा पनि फरक नै थियो । यो एक सामान्य रुघाखोकी लगाउने जस्तै भाइरस होला र त भाइरल ज्वरोको सिजनमा बढी फैलिन्छ जस्तो लागेको थियो । नयाँ भेरियन्टको संक्रमण दर, मृत्यु दर र निको हुने दर हेर्दा पनि यो मामुली नै हो भन्ने धारणा थियो । त्यसमा पनि आफूले खोप लगाएको हुनाले कोभिड १९ संक्रमण पोजिटिभ भए पनि लक्षण देखिन्न होला भन्नेमा ढुक्क थिएँ । खोप लगाएको कारण थप जटिल हुनबाट बचायो होला तर कसै कसैलाई लक्षण देखिने र केही गाह्रो हुने रहेछ भन्ने सिकाई भयो । आइसोलेसनमा बसेका हामी तीन जनामा पनि फरक फरक लक्षण देखियो । लेखा अधिकृत गणेश वलीको ओरल, इन्जेक्सनबाट औषधी दिँदा पनि आठ-नौ दिनसम्म ज्वरो १०२ डिग्रीभन्दा तल नझरेपछि दाङ रेफर नै गर्नुपर्ने अवस्था आयो । बिरामीलाई सञ्चो नभएर रेफर गर्दा मनमनै विभिन्न डरसँगै निक्कै नरमाइलो महसुस गरियो । उहाँको पनि अहिले स्वास्थ्य अवस्था सामान्य छ। दैनिकजसो कुरा हुन्छ खुशी लागेको छ । दशौं दिनसम्म आइपुग्दा कार्यालयको धेरै दवाबपूर्ण काम पनि सकिएका छन् । स्वास्थ्यमा पनि क्रमिक सुधार भैरहेको छ । बोल्न अझै मिल्दैन । बोल्यो कि लगातार खोकी लागिरहन्छ । बेला-बेलामा जाडो हुने र पसिना आउने भए पनि निद्रामा आएको सुधारका कारण धेरै सजिलो महसुस भएको छ।पखाला लागे पनि खाना खान थालिएकाले तङ्ग्रिएको महसुस भएको छ । अब हरेक नागरिकलाई सम्भव भएसम्म खोपको पहुँचमा पुर्‍याउनुपर्छ । खोप लगाए पनि ढुक्क भएर बस्नु हुँदो रहेनछ । हाम्रो शरिरमा भएका प्रणालीहरुमध्ये कुनै प्रणालीमा हामीलाई थाहै नभई समस्या आएको हुन सक्छ । खानपान जीवनशैली र धारणाले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा खोप लगाए पनि कोरोनाले धेरै दुःख दिन सक्छ । त्यसैले खोप लगाए पनि ढुक्क भएर स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्नुहुने रहेनछ !  कोभिड १९ लगायत जुनसुकै रोगबाट आफू बच्ने र अरुलाई बचाउने कुरामा दृढ हुन आवश्यक छ। आफूलाई रोग लागेर सञ्चो भए पनि आफूबाट रोग सरेर कसैको ज्यान गयो भने ? जिन्दगीभर पश्चाताप हुन्छ होला ! धेरै व्यक्ति हस्पिटलबाट डिस्चार्ज भएपछि विभिन्न कारणले ज्यान गुमाएका छन् । त्यसैले रोग लाग्न नदिन, रोग लागिसकेपछि उपचार गर्न र उपचारपछि पूर्ण स्वास्थ्य लाभ गर्न सदैव सजग हुन जरुरी छ । सरकारदेखि सर्वसाधारणसम्म सबैले पूर्वतयारी र सावधानीमा विशेष ध्यान दिनुपर्छ । कोभिड १९ (कोरोना भाइरस) शत्रुलाई पनि नलागोस् ! अस्तु !

Leave a Reply

Your email address will not be published.