भूमे गाउँपालिकामा खरदरी प्रचलन

चन्द्रसिंह श्रेष्ठ

रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा कोष) बढाउन, प्राकृतिक साधन स्रोतको संरक्षण र न्यायपूर्ण वितरण गर्न पुर्खौंदेखि गाउँ ठाउँ अनुसारको खरदरी चलनले प्रथाकै रुप लिएको कुरा स्थानीय बयोवृद्धहरुबाट बुझ्न सकिन्छ ।

के हो खरदरी प्रचलन ?

वर्तमानका जनप्रतिनिधिहरुले जनताबाट निर्वाचित भई शासन सञ्चालनमा वैधानिकता पाए जस्तै पूर्ववत् देखि नै गाउँ टोल शासित हुन गाउँलेहरु आफैले वैधानिक प्रतिनिधि छान्ने प्रचलन नै खरदरी प्रचलन हो । जसमा गाउँलेहरुबाट अनुमोदित अधिकार सम्पन्न संस्थाको रुपमा समिति नै हुन्छ । खरदरीलाई कतै भलाद्मी, कतै जान्नेमान्ने समिति, कतै वन समिति जस्ता गाउँ ठाउँ, प्रचलन र भाषिका अनुसारको फरक फरक नामले बुझिन्छ। भूमे गाउँपालिकाको मगर समुदाय रहेको गाउँ वस्तीहरुमा यसलाई खरदरी समिति भन्ने गरिन्छ । प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित भई सामूहिक निर्णय प्रणालीमा प्रचलनमा रहेको शासन पद्धति जस्तै हो खरदरी समिति।

खरदरी समितिको आवश्यकता र औचित्यता

ग्रामीण क्षेत्र यसै पनि कृषि पेशामै आधारित क्षेत्र भएकाले हरेक घरमा सम्पत्ति (गाउँघरमा वस्तुभाउलाई सम्पत्ति भन्ने चलन) हुने नै भए । तिनै सम्पत्ति (गाइ, भैंसी, भेडा बाख्रा) पाल्दा चरिचरन र वन जङ्गल संरक्षणमा चुनौति थपिन्छ। आफ्नो सजिलोका लागि हरेक व्यक्तिले अन्धाधुन्ध, अव्यवस्थित ढङ्गले प्राकृतिक स्रोतको उपभोग गर्दा वनजङ्गल तथा स्रोतको कमी भई जीवनयापनमा कठिनाई हुनुका साथै प्राकृतिक स्रोतको कम उपभोग गर्ने र बढी उपभोग गर्नेका बीचमा द्वन्द्व बढ्दा आपसी कलहका कारण समाजमा अशान्ति समेत फैलन सक्छ । त्यसैले मुख्यतयाः वनजङ्गलको संरक्षण गर्न, प्राकृतिक स्रोतको समन्यायिक वितरण गर्न, वस्तुभाउ पाल्न घाँसपात चरिरचन कम हुने समयका लागि चरिचरणको संरक्षण गरी कृषि कर्म सजिलो बनाउन, गाउँका लागि आवश्यक पर्ने साझा कोष संकलन गर्न र सामाजिक विवाद हुन नदिनुका साथै विवाद उत्पन्न भएमा समाधान गर्ने पाँच उद्देश्यका लागि खरदरी समिति गठन हुने प्रचलन रहेको छ ।

विशेषगरी असार, साउन, भदौ र असोज महिनामा पानी पर्ने समय भएकाले चरन क्षेत्र र वन जङ्गलमा घाँस पलाउने, नयाँ विरुवा उम्रने समय हो । त्यस्तो बेलामा संरक्षण गर्दा घाँस र वन जङ्गलकोको बढी संरक्षण हुन्छ । रुख विरुवाले भर्खर पालुवा फालेकाले यस्तो बेलामा काट्यो भने रुख विरुवाले अजिर (विरुवालाई काटेको ठाउँमा पानी पर्ने, पात नहुँदा खाना बनाउन कठिन भई विरुवा नबढ्ने, राम्रो पात पलाउननसकी पर्याप्त हुर्कन नसक्ने) मान्छ । त्यसैगरी वर्षायाममा गाइभैंसीको थला (भकारो) मा राखिने सोत्तर (पातपतिङ्गर) नपाइने भएकाले थला ओभानो बनाउन स्याउला (रुखको पात सहितको साना साना हाँगा) काट्नुपर्ने भएकाले वनजङ्गल हिउँदको तुलनामा बढी उपभोग भई क्षति हुन्छ । वर्षाको समयमा घरको गोठमा गाइभैंसी पाल्न कठिन पनि हुने र घरैमा नराखी नहुने हुँदैन । गाइ भैंसीलाई बुकी पाटनतिर लगेर चराउँदा उनीहरुले नयाँ स्वादको पौष्टिक घाँस खान पाउँछन् । सधैंभरी दाम्लोले बाँधिएका वस्तुभाउ दुई तीन महिना भए पनि स्वतन्त्र ढङ्गले जङ्गली जनावर झैं मनलाग्दै खुला पाटनमा रमाउन पाउँछन् । ग्वाला (गाइभैंसीको रेखदेख गर्ने व्यक्ति) लाई पनि पाडा बाच्छा बाहेकलाई घाँस काट्न नपर्ने, वनका च्याउ, साग खान पाउने, घुम्न पाउने भएकाले सुविस्ता (सजिलो) हुन्छ। अर्को कुरा वस्तुभाउलाई बुकी पाटनमा लैजाँदा आठ-दश घरको सम्पत्ति (वस्तुभाउ) रेखदेख गर्न एक जना ग्वाला बसे पुग्ने भएकाले अरुलाई वर्षे बाली गोड्मेल गर्ने, नयाँ खोरिया खन्ने, बारीको ढिक काल्ना मिलाउने फुर्सद पनि हुन्छ । यसप्रकार कृषि कर्ममा सहजता, पशुपंक्षीलाई स्वतन्त्रता, वनजङ्गल संरक्षणमा सहायता हुने भएकाले सबैलाई वस्तुभाउ घरमा नराख्न जोड दिइन्छ । कसैले राखेमा खरदरी समिति/वन समितिले उसलाई खुर (संख्या)का आधारमा दैनिक वनाउलो (वस्तुभाउलाई प्रतिबन्धित वनमा छोडे चराए वापत तिराइने जरिवाना) तिराई गाउँ कोषमा संकलन गर्दछ । वनाउलो वस्तुभाउ राखे वापतको कर नभई नियम मिचेकाले तिर्नुपर्ने जरिवाना हो। पहिले पहिले अनाज, वस्तुभाउ र गहना समेत वनाउलो उठाउने गरिएकोमा मुद्राको प्रचलन आएपछि सम्भव भएसम्म वनाउलोको रुपमा पैसा नै उठाउने गरिन्छ ।

खरदरी समिति गठन प्रक्रिया र पदाधिकारीको कार्य जिम्मेवारी बाँडफाँड

खरदरी समिति एक वैधानिक संस्थाको रुप हो । जसमा मुख्या, बैदार र तहबिल गरी तीन जना मुख्य निर्णायक पदाधिकारी रहन्छन्। समितिको निर्णय कार्यान्वयन गर्न र परिचालन तथा सूचना सम्प्रेषण गर्न एक जना कटुवाल र एक जना मिजार पनि रहन्छन् । यसरी ५ जना व्यक्तिलाई एक वर्षका लागि मनोनयन गर्दै हरेक वर्ष खरदरी समितिको विघटन र पुनर्गठन हुन्छ । बलपूजा (भूम्या पर्व) मनाइने ठाउँहरुमा भूम्या पूजाको अवसरमा र बलपुजा नमनाइने ठाउँमा विशेष दिन पारेर गाउँ खरदरी समिति/वन समितिको विघटन र पुनर्गठन गरिन्छ । खरदरी समितिका पदाधिकारीहरुको कार्य जिम्मेवारी बाँडफाँडलाई अहिलेको व्यवस्था र प्रचलनसँग तुलना गरेर हेर्ने हो भने मुख्याको काम निर्णायक, फैसलाकर्ता (अध्यक्ष), बैदारको काम लेख्ने, अभिलेखीकरण गर्ने (सचिव) र तहबिलको काम उठेको कोषको हिसाबकिताब राख्ने (कोषाध्यक्ष) रहेको पाइन्छ । त्यसैगरी कटुवालको काम हाक हालेर (कराएर सूचना भन्ने) गाउँलेलाई सुसूचित गर्ने र मिजारको काम घरघरमा पुगेर सूचना पुर्‍याउने, बोलाउने सहयोगी कर्मचारीको रुपमा रहेको पाइन्छ । यसरी जिम्मेवारी निर्वाह गरे वापत मुख्या, बैदार र तहबिलको पारिश्रमिक नतोकिएको विशुद्ध समाज सेवाको रुपमा चित्रण गरेको पाइन्छ । उक्त पदमा जुनसुकै जातको रहन पाउँछ । मिजार र कटुवाल भने क्रमशः कामी र दमाई (दलित) जातिको रहनुपर्ने चलन रहेको पाइन्छ। कटुवाल र मिजारलाई वर्षमा दुईपटक हिउँदे बाली र वर्षे बाली भित्र्याएपछि पारिश्रमिक स्वरुप प्रत्येक घरले एक एक पाथी अन्न दिनुपर्छ । यो ठाउँ अनुसार एक पाथी, दुईपाथी फरक फरक पनि पाइन्छ।

भूम्या पर्व र परम्परागत प्रचलनको सम्बन्ध

भूमे पूजा प्रकृति पूजक मगर समुदायको सबैभन्दा ठूलो पर्व हो । जसलाई भूम्या पर्व, बल पूजा, बल तान्ने पर्वको नामले चिनिन्छ । बल पूजा अर्थात भूम्या पूजा भूमि अर्थात जमिनलाई पूजा गर्ने पर्व हो । हिउँदे बाली भित्र्याएको खुशीयाली र लगाएको बर्खे (वर्षे) बालीमा कुनै हानी नोक्सानी हुन नदिई रक्षा गर्नका लागि भूमि देवतालाई खुशी पार्न भूम्या पूजा गरिन्छ । साथै, बाढी पहिरो जस्ता दैवी प्रकोप नआओस्, धनजनको क्षति नहोस् भन्ने कामना गरेर भूम्या ठानमा बली चढाई, नाचगान गरी धुमधामका साथ मनाइन्छ । हरेक वर्ष असार १ गतेदेखि एक सातासम्म धुमधामका साथ मनाइने भूमे पर्वलाई गाउँ व्यवस्थाको प्रचलन अनुसार वर्षभरिको आय-व्यय प्रस्तुति, नयाँ पदाधिकारी छनौट र नयाँ घरधुरी कायमको वैधानिकता दिने विशेष दिनको रुपमा पनि लिइन्छ ।

बल पूजाकै दिन गाउँको विवाद व्यवस्थापन, स्रोत साधनको संरक्षण तथा वितरण, हरेकको सामाजिक उत्तरदायित्व अन्तर्गतको झारा, योगदान लगायतको व्यवस्थापन गराई न्यायपूर्ण समाज निर्माणका लागि हरेक वर्ष गाउँका अगुवा, जान्नेमान्ने व्यक्ति, भलाद्मीलाई खरदरी समितिमा चयन गरिन्छ । सरकारले वार्षिक बजेट प्रस्तुत गरे जस्तै खरदरी समितिले वर्षभरिमा वनाउलो, कचहरी र अन्य जरिवाना तथा दान चन्दाबाट प्राप्त आम्दानी र खर्चका साथै आगामी वर्षमा प्रस्तावित वनाउलो, जरिवाना दर प्रस्तुत गर्दछ । वर्षभरिको आम्दानी र खर्च प्रस्ताव गाउँ भेलाले सदर गरेपछि मुख्या, तहबिल, बैदार, कटुवाल र मिजार रहेको खरदरी समिति भङ्ग भई नयाँ चयन हुन्छ । नयाँ खरदरी समिति गठन भएपछि वनाउलो लगाउने, उठाउने, विवाद मिलाउने, झारा लगाउने र सामाजिक सामूहिक खर्च व्यवस्थापन गर्ने कार्यहरु सोही समितिको पदाधिकारीले तोके बमोजिम हुन्छ । वर्षभरिमा वनाउलो, जरिवाना र सहयोगबाट खरदरी समितिमा प्राप्त हुन आएको रकमबाट सामाजिक रूपमा गर्नैपर्ने पूजा, पर्वका लागि चाहिने बली, रक्सीपानी, अन्य ठाउँबाट आएका गन्यमान्य व्यक्तिलाई गाउँको तर्फबाट गरिएको स्वागत सत्कारमा लागेको खर्च व्यहोरिन्छ । त्यसबाट बचेको रकम अर्को वर्षका लागि हस्तान्तरण गरिन्छ । आजकाल कतै कतै वन समिति, खरदरी समितिबाट उठेको रकम सामाजिक संस्कार वापतको सामूहिक खर्च कटाई बचेमा विद्यालयलाई हस्तान्तरण गरी नयाँ आर्थिक वर्षबाट शून्यबाट पनि सुरु गरिन्छ ।

भूम्या पूजाको अवसरमा बोका, हाँस, कुखुरा, सुँगुँरको बल बनाई तानिन्छ । उक्त बललाई खेत बारीको बीचको ठानमा लगी बली दिइन्छ । बारीमा दिइएको बलीलाई गाउँमा जति घरधुरी छन् त्यति भाग लगाइन्छ । यदि कोही व्यक्ति (दाजु भाई) अंशबण्डा भई छुट्टिएमा सोही दिन उसको नाममा भाग लाग्छ । बल पूजाको प्रसाद भाग पाएमा मात्र उसले वैधानिक रुपमा गाउँमा छुट्टै घरधुरीको मान्यता पाउँछ । बल पूजाको प्रसाद नपाएसम्म अंशबण्डा भए पनि सामूहिक रुपमा गर्नुपर्ने योगदान वापतको झारा, खर्च र सामूहिक रुपमा प्राप्त गर्ने विभिन्न लाभ (रुख विरुवा, चरन क्षेत्र, प्रसाद, कुलो धारा, आम्दानी) जस्ता कुराको हकदार हुन सक्दैन ।

परम्परागत प्रचलन र स्थानीय तहको सम्बन्ध

नेपालको पुनर्संरचनापछि स्थानीय तहमा गाउँपालिका र नगरपालिका स्थानीय सरकारको रुपमा स्थापना भएसँगै विशेष गरी गाउँपालिका अन्तर्गतका विभिन्न संयन्त्रहरु हिजोको गाउँ विकास समितिको संरचनामा हुँदाको अभ्यास बमोजिम नै नगर समिति जस्तै गाउँ समितिका नामले सरकारी समिति तथा संरचनाको नामाकरण भएको पाइन्छ। यसबाट गाउँघरमा पहिल्यैदेखि प्रचलनमा रहेका गाउँ (टोल) स्तरीय व्यवस्थापन समितिको नाम पनि गाउँपापलिकाका पदाधिकारी रहेको समिति हुन् वा होइनन् भन्ने छुट्याउन कठिनाई भई गलत बुझाई समेत पर्न गएको पाइन्छ। जस्तो गाउँ खरदरी समितिलाई गाउँपालिकाकै आधिकारिक समितिको रुपमा बुझेर विभिन्न जिज्ञासा राख्ने, आलोचना र प्रशंसा गर्ने गरेको पाइन्छ ।

प्रथा, परम्परा र प्रचलन समाजलाई व्यवस्थित गर्नका लागि सदियौंदेखि चलिआएका र स्वतः स्वीकार्य कानून नै हुन् । जसले समाजलाई मर्यादित र अनुशासित राख्ने, एकतामा बाँध्ने र पहिचान झल्काउने काम गरिरहेका हुन्छन् । राम्रा प्रचलन गाउँको चलन मात्र नभएर पहिचान पनि हुन्। कतिपय प्रथा र प्रचलनलाई समयसापेक्ष परिमार्जन गरी निरन्तरता दिन र समय प्रतिकूल प्रचलनलाई रोक्न पनि जरुरी हुन्छ । स्थानीय तह प्रत्यक्ष रुपमा स्थानीयबासीको घरदैलोमा पुग्ने जनताको सबैभन्दा नजिकको सरकार भएकाले कतिपय प्रथा परम्परालाई संरक्षण, संवर्द्धन, पुस्तान्तरण गर्न तथा कतिपय प्रचलनलाई रोक्ने जिम्मेवारी हुन आउँछ । पूर्ववत्अवस्थामा ठीकै भए पनि अहिलेको परिस्थितिमा नसुहाउँदो र अमिल्दो प्रचलन भएमा सुधार गरेर निरन्तरता दिने, मौजुदा कानून र मानव अधिकारको मूल्य मान्यता प्रतिकूल भएमा रोक्ने र समाजका लागि चाहिने, उपयुक्त गतिशील, प्रगतिशील प्रचलनलाई संरक्षण र पुस्तान्तरण गरेको खण्डमा परिचालन र व्यवस्थापनमा थप टेवा नै पुग्दछ । त्यसलाई समयसापेक्ष, स्थान सापेक्ष तथा मौलिक पहिचानको रुपमा बुझिनु र जगेर्ना गरिनुपर्दछ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *