लखरी मन

लखरी मन,
कहिले हाँस्छ,
कहिले रुन्छ,
यसको कुनै ठेगान छैन,
कति बेला के गर्ने हो !

कहिले चङ्गा जस्तै उड्छ ।
कहिले धागो झैं चुड्छ,
छिनमै विस्मात, छिनमै निरस
कुनै टुङ्गो छैन यसको ।।

कहिले बज्र सहेर फर्किन्छ,
बेसर्म नग्न उफ्रन्छ,
कतै ठोकिन्छ कतै रोकिन्छ,
सिसाझैं चर्किन्छ, थर्किन्छ ।
अनि,
अनि थाक्छ यो मन
फाट्छ यो मन, नजोडिने गरी ।
फेरि सोच्न थाल्छः
मनलाई सिउने सियो छैन?
फुटेको सिसा जोडिदैन ?
शीतल छर्कने जल छैन ?

सागर खोज्न,
पानीको बहावजस्तै
बग्दै जान्छ यो मन सललल…
सम्हालिएर बग्छ पहाडे कलकल पानीमा ।
चिसो सिरेतोले लखरी बनाइदिन्छ,
अनि…

तैरिँदै, थेग्रिदै बग्दै जान्छ,
वारपार सुसाउँदै, रमाउँदै ।।

अनायसै,
चारैतिरबाट मेघ गर्जिदै
खहरेहरु उर्लन्छन् ।
लखरी मनलाई उचाल्छन, पछार्छन
लछार्छन्, भीम शिलामा बजार्छन ।।
विचरा! मन,
फुटेर जोडिएको लखरी न हो
फेरि फुट्छ टुक्रा टुक्रा भएर ।
शीतमै बिलाउँछ अनि खहरेमै मिसिन्छ
थाहै नपाई सागर चुम्छ
पवित्र गंगाको रुपमा ।
अनि फेरि उड्छ आकाशमा
त्रिलोक सयर गर्छ,
चिसिएर लखरी बन्नलाई ।

यो मनको कुनै ठेगान छैन
कुनै आकार छैन,
कुनै प्रकार छैन
तर पनि डर लाग्छ यो  मनसँग ।।

– चन्द्र ज्योति
मितिः २०७१।७।५

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *