स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि

सबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।

मनको कल्पना र पुनः स्मरण गर्ने शैली ः
स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तै- शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा- न्युटन, मुख- हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ ।

रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वषार्ंैसम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ ।
सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तै- ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तै- धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ ।
धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ ।

कन्ठाग्र गर्ने र अभ्यास गर्ने ः
यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास गर्‍यो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो ।
बढी सिकाइ ः कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक-पटक पढ्नु र दोहोर्‍याइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैयाँ-पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ ।

अभिरुचि र सकारात्मक धारणा ः
आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तै- म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभि+mदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ ।

प्रतिफल वा इनाम ः
मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक-फरक हुन्छन् । जस्तै- खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर-जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ ।

शारीरिक स्वास्थ्य ः
स्मरण शक्ति बढाउन शरीर स्वस्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान, बानी-व्यवहार तथा रहनसहनले पनि ठूलो भूमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धि प्रयोग गर्न सक्छ, एउटा रोगी, अस्वस्थ र कमजोर व्यक्तिले परिश्रम गर्न सक्दैन, साथै उसको ध्यान अध्ययनमा भन्दा शरीरमै केन्दि्रत हुन्छ ।

अठोट ः
यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् ।

लक्ष्य ः
जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तै- आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *