आँधीको न्वारन कसरी गरिन्छ ?

बंगालको खाडीबाट उठेर दक्षिणपूर्वी भारतलाई प्रभावित बनाएको हुदहुद आँधीको जन्म ओमनमा भएको थियो भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

हो, हुदहुद आँधीको जन्म ओमनमा भएको हो । यसको मतलब आँधी नै ओमनबाट सुरु भएको भने होइन ।

दक्षिणपूर्वी भारतमा विपद मच्चाइ रहेको हुदहुद आँधीको नाम ओमनले दिएको हो । अफ्रिका, युरोप तथा एसियामा पाइने हुपु नामको चरालाई अरबी भाषमा हुदहुद भनिन्छ । सोही चराको नामबाट भारतमा अहिले चलिरहेको आँधीको नाम हुदहुद राखिएको हो ।

आँधी आउनु अघि नै हुन्छ नामाकरण

आँधीको नामाकरण गर्ने क्रम सन् १९५३ पछि सुरु भएको हो । सन १९५३ मा अमेरिकाको फ्लोरिडामा भएको मियामी नेश्नल होरिकेन सेन्टर र संयुक्त राष्ट्रसंघ अन्तरगतको वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन (डब्लुएमओ) को सम्मेलनले आँधीको नामाकरण गर्ने निर्णय गरेपछि आँधीले नाम पाउन थालेका हुन् ।

त्यसले एटलान्टिक समुन्द्रबाट उठ्ने आँधी अथवा युरोप, अफ्रिका, दक्षिण अमेरिका, उत्तरी तथा मध्य अमेरिकी र क्यारवियन देशमा उठ्ने आँधीहरुको मात्रै नाम राख्ने गरेको थियो । तर हिन्द महासागरबाट उठ्ने आँधीका लागि केहि पनि नाम राखिएको थिएन । यो क्षेत्रमा आँधीको नामाकरण गर्दा विवाद उत्पन्न हुने खतरा थियो । जातीय विविधताले भरिएको यस क्षेत्रमा आँधीको नाम राख्दा आदिवासी जाति, जनजातीको भावना तथा धार्मिक र सांस्कृतिक पक्षमा ठेस नलाग्ने खालका रोज्नु पर्ने अवस्था छ, जुन आफैमा कठिन काम हो ।

सन् २००४ सम्म हिन्द महासागबाट उठ्ने आँधीले कुनै नामा पाएका थिएनन् । सन् २००४ मा डब्लुएमओको अगुवाईको अन्तर्राष्ट्रिय कमिटी भंगगरि विभिन्न क्षेत्रले आफ्नो क्षेत्रमा आउने आँधीको नाम आफै राख्न सक्ने व्यवस्था गरियो । यहि अनुरुप हिन्दमहासागरबाट उठ्ने आँधीको नाम राख्ने कमिटीमा भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, म्यानमार, ओमन, श्रीलंका र थाइल्याण्ड भाग लिए । हरेक देशले ८ वटाको दरले ६४ वटा नाम प्रस्ताव गरे । त्यसमध्ये भारतले प्रस्ताव गरेका नामहरु नेपालीमा पनि सामान्य र अर्थ लाग्ने किसिमका छन् । जस्तैः मेघ, सागर, वायु आदी ।

यही सूचिबाट देशको नामको वर्णनुक्रम अनुसार आँधीको नाम राख्ने व्यवस्था छ । वर्णानुक्रम अनुसार अहिले आँधीको नाम राख्ने पालो ओमनको थियो । ओमनले प्रस्ताव गरेको हुपु चराको नामाबाट यो आँधीको नाम हुदहुद रहन गएको हो । आठ देशले प्रस्ताव गरेका ६८ मध्ये यो ३४ औं नाम हुन सक्ने भारतको चक्रवात चेतावनी केन्द्रका प्रमुख डाक्टर एम माहापात्राले बताउनुभयो । सूचिमा अब ३० वटा नाम बाँकी छन् । आठ देशका आँधी विशेषज्ञहरुको बैठक हरेक वर्ष बस्ने गर्छ जसले आवश्यकता अनुसार सूचिमा नाम थप्न पनि सक्छ । गएको वर्ष भारतको दक्षिणपूर्वी तटमा आएको पायलिन आँधीको नाम थाइल्याण्डले राखेको थियो । अब यस क्षेत्र(हिन्दमाहासागर) मा आउने आँधीको नाम राख्ने पालो पाकिस्तानको छ । जसलाई नीलोफर भनिने छ । सन् २०१२ मा दक्षिणपूर्व भारतमै आएको निलम आँधीको नामा पाकिस्तानले राखेको नाममा थियो ।

विवाद

प्रस्तावित ६४ नामहरुमा विवाद भएका घटना पनि छन् । सन् २०१३ मा श्रीलंकाले प्रस्ताव गरेको महासेन नामलाई लिएर श्रीलंकाकै राष्ट्रवादी तथा सरकारी अधिकारीहरुले नै विरोध गरेका थिए । पछि त्यसलाई बदलेर वियारु राखिएको थियो । श्रीलंकामा राजा महासेनले शान्ति तथा समृद्धि ल्याएका थिए । त्यसैले उनको नामबाट विपद ल्याउने आँधीको नाम राख्नु गलत भएको भन्दै विरोध भएको हो ।

हुदहुद आँधी

दक्षिणपूर्वी भारत बढी प्रभावित भएको हुदहुद आँधीको गति १ सय ७० देखि १ सय ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यो आँधीका कारण अहिलेसम्म ६ जनाको ज्यान गैसकेको छ । आँधीका कारण दक्षिणपूर्वी भारतमा भारी वर्षा भैरहेको छ । नेपालमा पनि हुदहुदकै प्रभावले वर्षा भएको छ ।

हुपो चरा

अफ्रिका, युरोप तथा एसियाका विभिन्न राष्ट्रमा पाइने हुपो चरा इजरायलको राष्ट्रिय पंक्षी हो । यसका ९ विभिन्न प्रजाति छन् । हुपो चराको प्वाँखलाई युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशको राजमुकुटमा प्रयोग गर्ने गरिएको छ ।

स्रोतः उज्यालो अनलाइन

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *